चितवनमा प्रहरीले एक युवकमाथि निर्घात कुटपिट गरिरहेको भिडिओ भाइरल भएपछि प्रहरीले घटनाको कारबाही प्रक्रिया थालेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त घटनाका कार्यालयको ध्यानाकर्षण भएको भन्दै छानबिन सहित कारबाही प्रक्रिया थालेको हो ।
‘चितवन जिल्ला भरतपुर महानगरपालिका–११ बसेनी चोकमा गस्ती गर्ने क्रममा एक युवकलाई प्रहरीले कुटपिट गरिरहेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको सन्दर्भमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै विज्ञप्तिमा पदीय मर्यादा र आचरण विपरीतका क्रियाकलाप गर्ने प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन जाँचबुझ गर्नका लागि सोमबार नै जिल्ला प्रहरी कार्यालय, चितवनले छानबिन समिति गठन गरेको पनि उल्लेख छ ।
‘घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकेको ब्यहोरा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित: ७ माघ २०८१ १२:१३ सोमबार