मीनकुमारी राणा प्रतिष्ठानद्वारा तेस्रो पुण्यतिथीमा प्रदान गरिने प्रजातन्त्र सेनानी, वरिष्ठ पत्रकार एवं वरिष्ठ खेलाडी छनोटका लागि प्रतिष्ठानका अध्यक्ष कबिर राणाको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको छ ।
प्रतिष्ठानले हरेक वर्ष मीनकुमारी राणाको वार्षिक पुण्य तिथिमा ३ विधामा पुरस्कार र एक विद्यालयलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको प्रतिष्ठानका महासचिव रवि राणाले जानकारी दिए ।
अध्यक्ष राणाको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिमा वरिष्ठ साहित्यकार एवं आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही र प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत रहेका छन् भने सदस्यसचिवमा महासचिव रवि राणा रहेको प्रतिष्ठानले जनाएको छ । सबै पुरस्कारको राशि ५१ हजार १ रुपैयाँ रहेको पनि राणाले बताए । तेस्रो पुण्य तिथिकै अवसरमा समाजसेवी स्वर्गीय मीनकुमारी राणाको प्रतिमा अनावरण तथा मीनकुमारी राणा मार्गको नामकरण गरिने छ ।
पहिलो पुण्य तिथिमा वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ खेलाडी एवं बक्सिङ प्रशिक्षक मदन गुरुङलाई प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट प्रदान गरिएको थियो भने दोस्रो पुण्य तिथिमा प्रजातन्त्र सेनानी सम्मानबाट पूर्व सांसद लेखनाथ न्यौपाने, वरिष्ठ पत्रकार किशोर नेपाल र वरिष्ठ बक्सिङ प्रशिक्षक प्रकाश थापामगरलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान पुरस्कारहरू प्रदान गरेका थिए ।
त्यसै गरी दुवै पुण्यतिथीमा राणा परिवारले अध्ययन गरेको भक्तपुर सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयका जेहनदार विद्यार्थीलाई प्रदान गर्ने गरी रु ५१ हजार १ पूर्व विद्यार्थी समाजका अध्यक्ष वरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेललाई हस्तान्तरण गरिएको थियो ।
प्रकाशित: ५ माघ २०८१ १५:३७ शनिबार