समाज

दृष्टिविहिन विद्यार्थीलाई मोबाइल

मोबाइल पाइसकेपछि चलाउँदै दृष्टिविहिन विद्यार्थी। तस्बिरः डिबी/जुम्ला

जुम्ला – जुम्ला चन्दननाथ नगरपालिका स्थित कर्णाली माध्यमिक विद्यालय अनामनगर र भैरबमावि नराकोटमा अध्ययनरत  दृष्टिविहिन विद्यार्थीलाई मोबाइल बितरण गरिएको छ। उनीहरुलाई एन्ड्रोइड मोबाइल बितरण गरीएको हो। दृष्टिविहिन बिद्यार्थीहरुको पढाई क्षमता अभिबृद्धि गर्न मोबाइल प्रदान गरिएको जनाइएको छ।

अब दृष्टिविहिन विद्यार्थीले अडियो एप्सको सहायतामा मोबाइलमै आवाज सुनेर वा रेकर्ड गरेर पढ्न सक्ने छन्।  दुर्गमका दृष्टिविहिन विद्यार्थीहरुसँग समयमै कक्षा अनुसारको ब्रेनलिपि नपुग्ने भएकाले उपनिहरुको अध्ययनमा सहजता होस् भन्ने उद्देश्यले मोबाइल प्रदान गरिएको हो। भैरब मावि नराकोट र कर्णाली मावि अनामनगरमा अध्ययनरत ७ जना दृष्टिविहिन विद्यार्थीहरुले मोबाइल पाएका छन्।

चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले दृष्टिविहिन विद्यार्थीलाई, स्यामसुङ ग्यालेक्सी वन सेभेन प्रो मोडेलको मोबाइल हस्तान्तरण गरेकी हुन्। मोबाइल प्रदान गर्दै मेयर सेजुवालले उनीहरुको पढाइमा थोरै भएपनि राहात पुग्ने विश्वास लिएको बताइन्। उनले भनिन, ‘यो दिगो उपाय भने होइन, बरु राज्यले समयमै ब्रेनलिपि बनाएर दुर्गम क्षेत्रका विद्यार्थीलाई पठाउनु पर्छ।’

आद्रा नेपालको सहयोग तथा साझेदारी सहयोग केन्द्रको आयोजनामा मोबाइल बितरण गरीएको पेश नेपालका अध्यक्ष किशोर न्यौपानेले बताए। जिल्लामा शैक्षिक शत्र सुरु भएको दुई महिना बितिसक्दापनि ब्रेनलिपि नपुग्दा विद्यार्थीहरु समस्यामा परेका छन्। दृष्टिविहिन विद्यार्थी सत्या बुढाले चाँडो ब्रेनलिपि ल्याउन विद्यालयसँग माग गरेपनि विद्यालयले अँझै एक–दुई महिना समय लाग्ने बताउँदै आएको गुनासो गरिन्।

‘विद्यालयमा गएपनि शिक्षकले पढाएको आवाज मात्र सुन्नुपर्छ, सुनेकै आधारमा कसरी परिक्षा दिन सकिन्छ,’ अर्की विद्यार्थी निर्माया प्याकुरेलले भनिन, ब्रेनलिपि नआउँदा हामीलाई एन्ड्रोइड मोबाईलको सहायताले पढ्न सजिलो हुनेभयो, यसैमा खुसी छौ।’

प्रकाशित: ३ वैशाख २०७५ ०६:२८ सोमबार

दृष्टिविहिन विद्यार्थीलाई मोबाइल