समाज

सवारीहरूको प्रदूषण जाँच गर्दै महानगर, सरसफाइमा ध्यान दिन मेयरको आग्रह

काठमाडौं महानगरले ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरूको प्रदूषण जाँच सुरु गरेको छ। महानगरका मेयर बालेन साहले महानगरले सवारी साधनहरूको प्रदूषण जाँच गरी रहेको जानकारी दिएका हुन्।

शुक्रबार मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्,'के तपाईँको सवारी साधन को अवस्था ठिक छ , प्रदूषणको मात्रा धेरै छ । अवस्था ठिक छैन  भने सवारीसाधनलाई मर्मत सरसफाइ गराउनु होला । हामी ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरूको प्रदूषण जाँच गरी राखेको छौ ।' 

मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्र सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्छ ।

जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदूषण मापदण्ड बाहिर हुन्छ ।

प्रकाशित: ४ माघ २०८१ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App