समाज

कोरियाबाट रेमिटेन्स ल्याउनेको कथा: सुरुमा दुःख पछि सुखैसुख

विदेश जाने सपना नदेखेका दैलेखको ठाटीकाँध गाउँपालिका– १ सिरारीका अजय सोडारीलाई एकाएक कोरिया जानुपर्ने बाध्यता पर्छ। घरको आर्थिक अवस्था सुधार्नुपर्ने उनको बाध्यता थियो। मेहनत र लगनशीलताले उनलाई दक्षिण कोरिया पुर्‍याउँछ। कोरियाली भाषा उत्तीर्ण भएसँगै उनको खुसी र उत्साह पनि उत्तिकै चुलियो।

साढे दुई वर्षअघि दक्षिण कोरिया पुगेका अजयलाई इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमै त्यहाँका मानव संसाधन विकास सेवाका प्रतिनिधि लिन आएका थिए। कोरिया जानुको रहर, सपना र बाध्यता भए पनि त्यहाँ पुगेको केही दिनमै उनको मनमा ढ्यांग्र्रो ठोकिन थाल्यो। किनकि उनले जिन्दगीमा कहिल्यै नदेखेका ठुलाठुला मेसिनमा काम गर्नुपर्थ्याे।

अनलाइन कलमार्फत नागरिकसँग २६ वर्षीय अजयले भने, ‘कोरिया पुग्नेबित्तिकै प्लास्टिक कारखानामा काम गर्नुपर्‍यो। कम्प्युटर, ल्यापटप, मोबाइललगायत इलेक्ट्रोनिक सामग्री सुरक्षाका निम्ति राखिने प्लास्टिक कभर उक्त कम्पनीमा बनाइन्थ्यो। त्यसरी बनेका प्लास्टिक प्याकिङ गर्ने, सामान मिलाउनेदेखि अन्य थुप्रै काम गर्नुपथ्र्यो। ओभर स्पिडमा चलिरहेका ठुलाठुला मेसिनसँग खेल्नुपथ्र्यो। डर लाग्थ्यो ।’ अजयलाई मेसिनमै च्यापिएर मरिने पो हो कि भन्ने डरले सताउने गथ्र्यो।

दैनिक आठ घन्टाका दरले साताको ६ दिन काम गर्नुपर्ने उनलाई हात पाउ छिटोछिटो नचलेको खण्डमा रोजगारदाताको नकारात्मकता सहनुपर्ने बाध्यता थियो। आफूलाई भने मेसिनको गतिसँग हात चलाउने बानी नपरेसँगै रोजगारदाताको चित्त बुझाउन मुस्किल हुन्थ्यो। ‘आफूले सोचे झैं कोरिया थिएन’, उनले भने, ‘उनीहरूले हेर्ने भनेकै काम हो। कोरियाले कामलाई माया गर्छन्। जसले काम गर्‍यो उसले इज्जतसँगै माया पायो। नयाँ आएको मान्छे हो। विस्तारै सिकेर काम गर्छ भन्ने नै नहुने।’

कोरियामा खटिएर गर्नुपर्ने हुँदा झन्डै डिप्रेसनमा गएको उनी सम्झन्छन्। ‘विदेशको हावापानी, काम र खाना नमिल्दा धेरै गाह्रो हुने’, अजयले भने, ‘कसरी विदेशमा काम गर्ने होला भन्ने सोचले सताइरहन्थ्यो। तर घरपरिवार र ऋण सम्झेर आफूलाई सम्हाल्थें। धेरै दिनको अनिदो र तनावले अस्वस्थ हुँदै गएको थिएँ। सकी–नसकी काम गर्थें।’

शारीरिक अवस्था कमजोर हुँदै गएपछि अन्यत्र काम खोजेको उनी बताउँछन्। प्लास्टिक कम्पनीमा काम गर्न छाडेर उनी अहिले गाडी बनाउने कम्पनीमा रमाइरहेका छन्। शरीर थाके पनि उनले मन र मस्तिष्क थाक्न दिएका छैनन्। कोरिया आएको ६ महिनापछि शतप्रतिशत आफ्नो श्रम र कमाइमा समर्पित भएको उनी बताउँछन्।

उनी भन्छन्, ‘अहिले त जस्तोसुकै काम भए पनि सक्छु भन्ने आँट आउँछ। अचेल हात पनि छिटोछिटो चल्ने भएको छ।’

अजय अहिले कम्पनीले दिएको कन्टेनरमा बस्छन्। आफू बस्ने ठाउँ राम्रो र सुविधायुक्त भएको उनी बताउँछन्। त्यहाँ पनि उनी नेपालीसँगै बस्छन्। कोरियनसहित अरू मुलुकका आप्रवासी श्रमिक पनि छन्। पछिल्लो समय उनले कोरियाली खानेकुरा खाने बानी बसालिसकेका छन्।

अहिले उनलाई कोरियाली खाना मन पर्ने भएको छ। उनका अनुसार कोरिया मेहनत गर्नेलाई राम्रो छ, तर नेपालमै दुःख नगरेकालाई एक्कासि कोरिया आएर काम गर्नु नारकीय जीवन बिताउनु सरह हो। कोरियामा टन्न पैसा हुन्छ भनेर आउँछन्, तर त्यो आशाले उनीहरूलाई निराशामा पुर्‍याउँछ। त्यही निराशामा पुगेका युवक डिप्रेसन, कुलत र आत्महत्याको बाटोसम्म रोज्न पुग्छन्।

‘दुःख गर्नेलाई कोरिया राम्रो छ। कामअनुसारको यहाँ दाम पनि छ’, अजयले भने, ‘कोरियामा न्यूनतम कमाउने व्यक्तिले मासिक नेपाली दुईदेखि अढाई लाख रूपैयाँ चोखो बचाउँछ। फेरि अधिकतम कमाउनेले मासिक ४/५ लाख नै बचाउने गर्छन्। कोरियामा काम गरेर फर्कने हो भने एउटा नेपालीले पाँच वर्षमा न्यूनतम करिब तीन करोड रूपैयाँ नेपाल ल्याउँछ।’ तर कोरियामा कमाएको रेमिटेन्स अवैधानिक च्यानल हुन्डीमार्फत पठाउने विकृति बढ्दो छ। कोरियामा थुप्रै रेमिटेन्स कम्पनी सक्रिय छन्। त्यसका बाबजुद हुन्डी प्रयोग मौलाउँदै गएमा उनको दुखेसो छ।

हुन्डीविरोधी भएसँगै सरकारी प्रणालीबाट आएका मान्छेले वैधानिक तरिकाले पैसा पठाएन भने अन्याय हुन्छ भनेर आफूले हुन्डी नगरेको उनी बताउँछन्। ‘मेरो विचारमा कोरियामा काम गर्ने ९८ प्रतिशतले हुन्डीबाट पैसा पठाउँछन्। रेमिटेन्स कम्पनीले लिने शुल्क महँगो भएकाले हुन्डी गर्नेहरू बढेका हुन् जस्तो लाग्छ। कतिपयले श्रमिकलाई नै हुन्डी एजेन्ट बनाएर अवैध काम गरिरहेका पनि छन् ।’

कोरिया आउँदा उनको थाप्लोमा ऋणको गह्रौं भारी थियो। उनका अनुसार कोरियाको भिसा लागिसकेपछि मात्रै चार लाखभन्दा धेरै खर्च भएको थियो। कोभिडको बेला हवाईजहाज टिकट नै महँगो हुँदा लगभग दुई लाख उनले हवाईजहाज टिकटवापत तिरेका थिए। कोरियाली भाषा पढ्न काठमाडौं बसेसँगै सबै गरेर १० लाख रूपैयाँ उनको ऋण लागेको थियो। दुई वर्षमा उनले नेपालमा ३० लाख रूपैयाँ पठाएको बताउँछन्।

जीर्ण रहेको अजयको घर अहिले पक्की भएको छ। घरका जेठा छोरा दुई भाइ र एक बहिनीका दाजु हुन्– अजय। कोरियाको रेमिट्यान्सले उनको परिवारमा खुसी छाएको छ। कोरियामा पसिनाको धारा बगाएका अजयलाई अब धेरै समय विदेशमा बस्न मन छैन। उनी छिटै फर्किएर देशमै केही गर्न चाहन्छन्।

‘विदेश आएपछि असहज भन्ने हुँदैन सहज भएर काम गर्नुपर्छ’, उनले भने, ‘विदेशमा बसेर दुःख गरेर रेमिटेन्स पठाउनुपर्दा नमज्जा लाग्छ। युवाको जोस, शक्ति, जाँगर र कलकलाउँदो जवानी विदेशको मेसिनसँग खियाउनुपर्छ। आफ्नै देशमा यसरी दुःख गर्न पाए कति जाती हुन्थ्यो।’

उनका अनुसार अब आफ्नै देश फर्कने मन छ। नेपालबाट कोरियाको रोजगारदातासँग तीन वर्षको श्रम सम्झौता गरेर आएको हो। यहाँ आएको तीन वर्ष पूरा भएपछि दुई वर्ष थपेर पाँच वर्षका लागि बस्न पाइन्छ। अब नेपाल आउन अढाई वर्ष बाँकी छ। नेपाल आएर कृषिमा काम गर्ने मन छ। कोरियामा सिकेको सीप नेपालमा लागू नहुने उनले दुखेसो पोखे।

 ‘कोरियामा गाडी बनाउने काम त सिकें, तर यो नेपालमा लागु गर्न सकिँदैन। नेपालमा गाडी बनाउने, फिट गर्ने र अन्य सामानसँगै कुनै पनि संरचना छैन। त्यसो हुँदा कृषिमा लागेर १०/१५ जनालाई रोजगार दिन मन छ’, उनले भने। लगनशील, नीतिनियम र मेहनतसँगै पाखुरा बजारेर काम गर्नुपर्छ भनेर कोरियाले पाठ सिकाएको उनले बताए।

वैदेशिक रोजगारका लागि कोरिया पुगेको सुरुसुरुमा कामसँग डराएका अजय अहिले कोरियासँग सन्तुष्ट छन्। कोरियाले राम्रो पुँजीसँगै सीप सिकाएकोमा धेरैधेरै धन्यवाद दिए। उनले भने, ‘हिजो बाआमाको झुपडीमा वास थियो। आज पक्की घर भएको छ। आर्थिक पाटो सुध्रिएको छ। विदेश आएर बाको दौरा र आमाको चोलो फेर्न सक्ने भएका छौं ।’  

कोरिया गएर घरको आर्थिक अवस्था सुध्रिएसँगै सबै परिवार खुसी हुँदा अजयको मन पनि प्रफुल्लित भएको छ। कोरियाको सीप नेपालमा लागु गर्न नसकिए पनि पुँजी भने लगानी गर्ने तरखरमा उनी रहेका छन्।

प्रकाशित: ४ माघ २०८१ ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App