काठमाडौं उपत्यकाको क्षेत्रफल ७२१ वर्ग किलोमिटर छ तर सरकारी रिपोर्टमै सार्वजनिक खुला क्षेत्र भने ३७२ हेक्टर (३.७२ वर्गकिलोमिटर) जग्गा मात्र छ। यो भनेको उपत्यकाको कुल क्षेत्रफलको शून्य दशमलव ५१ प्रतिशत मात्र हो। यो अत्यन्तै न्यून क्षेत्र भएकाले विपद्मा झनै जोखिम निम्तिने विज्ञहरूको भनाइ छ।
सहरी क्षेत्रमा खुला क्षेत्र कम्तीमा ५ प्रतिशत हुनुपर्ने भनी सरकारी प्रतिवेदनमै उल्लेख छ। विज्ञहरू काठमाडौंजस्तो भूकम्पीय जोखिमयुक्त क्षेत्रमा कम्तीमा १० देखि १५ प्रतिशत चाहिने बताउँछन्। काठमाडौं उपत्यका विकास प्राधिकरणले अहिले काठमाडौं उपत्यकाका खुला क्षेत्रबारे अध्ययन गरिरहेको छ। अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणकी विकास आयुक्त जानुका ढकालका अनुसार प्राधिकरणले गरेको अध्ययनमा काठमाडौं उपत्यकामा सार्वजनिक खुला क्षेत्र शून्य दशमलव ५१ प्रतिशत मात्र देखिएको छ। ‘यो अत्यन्त कम हो। सहरी क्षेत्रमा कम्तीमा ५ प्रतिशत खुला क्षेत्र हुनुपर्छ,’ ढकालले भनिन्, ‘प्रत्येक १५ मिनेटको बाटोमा कम्तीमा एउटा खुला क्षेत्र हुनुपर्छ। यो नियमको पालना भएको देखिएन।’ विपद्मा शरण लिने ठाउँ खुला क्षेत्र भएको बताउँदै उनले भनिन्, ‘सहरी क्षेत्रमा खुला क्षेत्र अनिवार्य चाहिन्छ। केटाकेटीलाई खेल्न, वृद्धवृद्धालाई हिँड्डुल गर्न खुला क्षेत्र अनिवार्य चाहिन्छ। आगलागी भयो भने अथवा भूकम्प आयो भने नागरिकलाई भाग्ने ठाउँ चाहिन्छ।’
प्राधिकरणले गरेको अध्ययनमा काठमाडौं उपत्यकामा रहेका सार्वजनिक पार्कलाई समेत जोडेर खुला क्षेत्र मापन गरिएको छ। बालाजु, भृकुटीमण्डप, भूगोल पार्क, भूखेल पार्क, सामाखुसी पार्क, गोल्फुटार, कीर्तिपुर पार्क, गोदावरी, ज्ञानेश्वर, त्रिभुवन पार्क, युएन पार्क, शंख पार्क, सहिद पार्क, मित्र पार्क, मदनभण्डारी पार्क, लैनचौर पार्कलगायत ५४ वटा पार्क यस मापनमा जोडिएका छन्। व्यक्तिको निजी जग्गाभित्र पर्ने खुला क्षेत्र भने यसमा नजोडिएको प्राधिकरणको भनाइ छ। उपत्यकाका २४ ठाउँमा जग्गा एकीकरण कार्यक्रम सञ्चालन गरिरहेको प्राधिकरणले जनाएको छ।
पछिल्लो पटक सञ्चालन गरिरहेका जग्गा एकीकरण कार्यक्रममा कम्तीमा ५ प्रतिशत खुला क्षेत्र राख्ने गरिएको विकास आयुक्त ढकालले बताइन्। उनका अनुसार पहिलेपहिले सञ्चालन भएका जग्गा एकीकरण कार्यक्रममा भने २ देखि ३ प्रतिशत मात्र खुला क्षेत्र राख्ने गरेको पाइएको छ। ‘तर अहिले हामीले सञ्चालन गरेको जग्गा एकीकरण कार्यक्रममा कम्तीमा ५ प्रतिशत खुला क्षेत्र राख्ने गरका छौं,’ उनले भनिन्। प्राधिकरणले गरेको अध्ययनमा काठमाडौं उपत्यकाभर ८८७ ठाउँमा सार्वजनिक खुला क्षेत्र छन्। जसमध्ये काठमाडौं जिल्लामा ४८८, ललितपुरमा ३४६ र भक्तपुरमा ५३ वटा सार्वजनिक पार्कसहितका खुला क्षेत्र छन्।
विज्ञहरू काठमाडौं उपत्यकाको हकमा ५ प्रतिशतले खुला क्षेत्र भएर नपुग्ने बताउँछन्। भूकम्पमा विद्यावारिधि गरेका राष्ट्रिय योजना आयोगका सदस्य तथा सहरी विकास मन्त्रालयका पूर्वसचिव डा. रमेशप्रसाद सिंहले वैज्ञानिक अध्ययनबाट काठमाडौं उपत्यका भूकम्पीय दृष्टिकोणबाट अत्यन्त जोखिमपूर्ण क्षेत्र भएको बताए।
'कम्तीमा १० देखि १५ प्रतिशत हुनुपर्छ,’ उनले भने, ‘सरकारले सबै काम छाडेर भूकम्पीय जोखिम न्यूनीकरण गर्नतर्फ लाग्नुपर्छ। किनभने मान्छे बाँचे पो समाज रहन्छ, सरकार रहन्छ, मान्छे नै नरहे केको समाज?’ भूकम्प अथवा विपद आउँदा अस्थायी बसोबासका लागि खुला क्षेत्र आवश्यक पर्ने उनको भनाइ छ।
भूकम्पको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीलाई सरकारले बेवास्ता गरेको उनको भनाइ छ। उनका अनुसार पर्याप्त खुला क्षेत्र भएर पनि हुँदैन। विपदको बेलामा खुला क्षेत्रमा जान स्केप रुट (भाग्ने बाटो) बारे पनि नागरिकलाई जानकारी हुनुपर्छ। काठमाडौं उपत्यकामा खुला क्षेत्र बढाउन सरकारले कडा नीति ल्याउनुपर्ने उनको सुझाव छ।
प्राधिकरणले अहिले उपत्यकाको बृहत्तर गुरुयोजना बनाइरहेको छ। सोही क्रममा प्राधिकरणले खुला क्षेत्रबारे अध्ययन गरिरहेको छ। अहिले बृहत्तर गुरुयोजनाबारे प्रतिवेदन बनाउने काम भइरहेको प्राधिकरणको भनाइ छ। सरकारले बुधबार भूकम्प दिवस मनाएको छ। तर भूकम्पको जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि खासै काम नभएको मात्र दिवस मनाउने काम भइरहेको विज्ञहरूको भनाइ छ।
सहरी विकास मन्त्रालयले भने सहरी नीति २०८१ पास गरेको छ। विपद् व्यवस्थापन, प्रविधि र दिगो विकासलाई लक्षित गरेर सहरी नीति जारी गरिएको मन्त्रालयको भनाइ छ।
प्रकाशित: ४ माघ २०८१ ०६:३३ शुक्रबार