नेपाल प्रहरीको साइबर ब्यूरोले प्रहरीका उच्च अधिकारीहरूको नाम र दर्जा दुरुपयोग गर्दै चेतावनीसहितका झूटा इमेलहरू पठाइने गतिविधिप्रति सतर्क रहन आग्रह गरेको छ।
साइबर ब्यूरोका प्रवक्ता दीपक राज अवस्थीले बिहीबार विज्ञप्ति जारी गर्दै यस्ता झूटा इमेलहरूप्रति ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको जानएका हुन्।
ब्यूरोले ती इमेलहरू ‘होक्स’ अर्थात् झूटा भएको भन्दै कुनै पनि प्रतिक्रिया नदिन र विश्वास नगर्न सबैलाई अनुरोध गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रहरी साइबर ब्यूरोलगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू ‘होक्स’ भएको पुष्टि भएको छ। त्यसैले, यस्ता मेलहरूको विश्वास नगर्नु र कुनै प्रतिक्रिया नदिनुहुन सम्पूर्णमा विनम्र अनुरोध छ।’
ब्यूरोले झूटा इमेलहरूलाई पहिचान गरी सावधानी अपनाउन सबैलाई सचेत गराएको छ। साथै, यस्ता गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन प्रयास भइरहेको जनाएको छ।
प्रकाशित: ३ माघ २०८१ १८:२६ बिहीबार