समाज

प्रहरी ज्यादतीविरुद्ध यायोक्खाद्वारा प्रजिअको ध्यानाकर्षण

किराँत राई यायोक्खाले शान्तिपूर्ण कार्यक्रममाथि प्रहरी दमन भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। अघिल्लो साँझ दीप प्रज्ज्वलन कार्यक्रममा प्रहरीले विनाकारण हस्तक्षेप गरेको भन्दै यायोक्खा टोलीले बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएको हो।

यायोक्खाले गाईघाट मुख्य चोकमा मंगलबार साँझ ‘यल दुङ ५०८५ (किराँत नयाँ वर्ष)’ को स्वागतमा दीप प्रज्ज्वलन कार्यक्रम राखेको थियो। यायोक्खा अध्यक्ष गंगा राई, पूर्वअध्यक्ष नवीन राई, कृष्णा राई, गीता राई लगायत दुई दर्जन बढी सहभागी टोलीले दीप प्रज्ज्वलन गर्न लागेका बेला प्रहरीले एक्कासि हस्तक्षेप गरेको उनीहरूको गुनासो छ।

किराँती सभ्यताको नयाँ वर्षलाई स्वागत गर्न दीप प्रज्ज्वलन कार्यक्रममा प्रहरीले गरेको अमर्यादित र अभद्र गतिविधिविरुद्ध प्रशासनमार्फत सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष राईले बताइन्।

मैनबत्तीले बनाइएको नेपालको नक्सा र त्यसभित्र लेखिएको ‘किराँत प्रदेश, यल दुङ ५०८५’ मा अचानक बर्दिवाला प्रहरीहरू आएर बुटले कुल्चेर मेट्न खोजेकोमा यायोख्खाले आपत्ति जनाएको हो। त्यस्तो हर्कतविरुद्ध यायोक्खाका प्रदेश कमिटी सचिव राम पाण्डुपा राईको उपस्थितिमा उदयपुर अध्यक्ष गंगा राईलगायतको टोलीले प्रजिअ हरिप्रसाद घिमिरेलाई भेटेर ज्ञापनपत्र बुझाएको हो।

ध्यानाकर्षण पत्र बुझाउँदै टोलीले शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेर राज्य आफैंले समाजमा अशान्ति सिर्जना गर्न खोजेको गुनासो गरेको छ। संवैधानिक अधिकारअनुसार कार्यक्रम गर्दा यसरी कुनै पनि जाति र समुदायप्रति राज्य अराजक बनेकोमा सचिव राईले प्रश्नसमेत गरेका छन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश रहेको कुरा संविधानमै उल्लेख रहेको भन्दै राईले आआफ्नो चाडपर्व मनाउने अधिकारमाथि हस्तक्षेप गरेर सरकार निरंकुश बन्ने हो भने देशमा अशान्ति फैलिने चेतावनी पनि राईले दिए।

मंगलबारको घटनामा संलग्न प्रहरीलाई तत्काल कारबाही नगरे सशक्त आन्दोलन गर्ने चेतावनी ध्यानाकर्षण पत्रमा दिइएको छ। कसैको चाडपर्व मनाउने र सभ्यताको संरक्षण गर्न पाउने अधिकार राज्यबाट कुण्ठित हुन्छ भने जस्तोसुकै कदम चाल्न आफूहरू बाध्य हुने र त्यसबाट उत्पन्न परिणामको जिम्मा सरकार स्वयंले लिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ।

प्रदेश १ लाई कोशी नामकरण गरेर सरकारले ठूलो गल्ती गरेपछि त्यसविरुद्ध किराँत राई यायोक्खालगायत दर्जन बढी पहिचानवादी संघसंगठन र जाति समुदायले त्यसबेलादेखि नै आन्दोलन गरिरहेको स्मरण गराउँदै अहिले पनि यायोक्खा शान्तिपूर्ण आन्दोलनकै चरणमा रहेको उल्लेख छ। गाईघाटमा भएको प्रहरी ज्यादतीले आगोमा घ्यु थप्ने काम गरेको उनीहरूको आरोप छ।

प्रजिअलाई ध्यानाकर्षणपत्र बुझाएर फर्केको टोलीले अघिल्लो दिन घटना भएकै गाईघाट चोकमा कोणसभा आयोजना गरको छ। ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ घिमिरेले घटनाबारे आफूलाई विस्तृत रूपमा जानकारी नभएको भन्दै कुनै पनि समुदायलाई शान्तिपूर्ण कार्यक्रम गर्न पाउने अधिकार रहेको बताए। त्यसका लागि आफू शान्तिसुरक्षा दिन प्रतिबद्ध रहेको पनि उनले बताए। घिमिरेले घटनामा संलग्नबारे प्रहरी अधिकारीलाई सोधपुछ गरेर गल्ती भए कारबाही गर्ने आश्वासन दिएका छन्। प्रहरी ज्यादतीको घटनाविरुद्ध यायोक्खा उदयपुर, सुनसरी र केन्द्रीय समितिले समेत भत्र्सना गर्दै आपत्ति जनाएका छन्।  

प्रकाशित: ३ माघ २०८१ ११:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App