समाज

क्युएफएक्स हलमा अढाई फिटसम्मका बालबालिकाले प्रवेश नपाउने

क्युएफएक्स सिनेसाजले साढे दुई फिटसम्मका बालबालिका फिल्म हल प्रवेश गर्न नपाउने जनाएको छ। बुधबार एक सूचना जारी गर्दै क्युएफएक्स सिनेसाजले देशभर रहेका आफ्ना फिल्म हलहरूमा साढे दुई फिटसम्मका बालबालिकाले प्रवेश नपाउने जनाएको हो।

क्युएफएक्स सिनेसाजले फिल्म हेर्न हलमा प्रवेश गर्ने बालकदेखि वृद्धसम्म सबैका लागि तोकिएको टिकट दर लागु हुने जनाएको छ। ‘वृद्धदेखि बालकसम्म सबै दर्शकलाई फिल्म हेर्न तोकिएको टिकट दर लागु हुनेछ’, क्युएफएक्स सिनेसाजले सूचनामा उल्लेख गरेको छ, ‘साढे दुई फिटसम्मका बालबालिकालाई फिल्म हलभित्र प्रवेश निषेध गरिएको छ।’

साना बालबालिकाको स्वास्थ्य र फिल्म हलभित्रको मनोरञ्जनको वातावरणलाई ख्याल गरेर साढे दुई फिटसम्मका बालबालिकालाई प्रवेशमा रोक लगाइएको क्युएफएक्सका बजार प्रमुख सुलभ कक्षपतिले जानकारी दिए।

‘फिल्म हलभित्र हावाको समस्या हुने, अँध्यारो वातावरणले साना बालबालिकालाई असर पर्ने भएकाले प्रवेशमा रोक्ने निर्णय भएको हो’, उनले भने, ‘काखे बालबालिकालाई फिल्म हलभित्र लैजाँदा अन्य दर्शकबाट मनोरञ्जनको वातावरण नभएको गुनासोसमेत आउने गरेको छ।’

यसअघि मंसिरको पहिलो साता केएल टावरमा रहेको एफक्युब सिनेमाले समेत सूचना जारी गरी तीन वर्षसम्मका बालबालिकालाई फिल्म हलभित्र प्रवेश निषेध गरिएको जनाएको थियो। ‘ग्राहक महानुभावको आरामदायी र शान्त वातावरण सुनिश्चित गर्न तीन वर्षमुनिका बालबालिकालाई फिल्म हलभित्र प्रवेश निषेध गरिएको छ’, एफक्युब सिनेमाले सूचनामा उल्लेख गरेको थियो।

‘बालबालिकासम्बन्धी यो नीतिका बारेमा तपाईंको बुझाइको हामी कदर गर्छौं साथै तीन वर्षभन्दा माथि वा तीन फिटभन्दा अग्लो बालबालिकाका लागि तोकिएको टिकट दर लागु हुनेछ।’

प्रकाशित: ३ माघ २०८१ १०:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App