समाज

हिलो छ्यापेर मनाइयो जुडशीतल

जनकपुरधाम - नयाँ वर्षलाई उत्सवको रुपमा मनाउने चलन हरेक मुलुक र समुदायमा छ। नेपालको मिथिलाञ्चल क्षेत्रमा नयाँ वर्षलाई विशेष महत्व दिई जुडशीतल पर्व मनाइन्छ।

सामाजिक सद्भाव, प्रकृतिको पूजा र सांस्कृतिक समृद्धिको प्रतीकको रुपमा मनाइने जुडशीतल पर्व आइतबार सम्पन्न भएको छ। नयाँ वर्ष प्रारम्भ भएको दिन अर्थात् वैशाख १ गते ‘सतुवासतुवाइन’ र दोस्रो दिन जुडशीतल मनाउने परम्परा धेरै पुरानो हो। शनिबार परिवारका ज्येष्ठ महिलाले बिहानै स्नान गरी सातु खाने चलन छ। यो सांस्कृतिक विधिलाई सतुवासतुवाइन भनिएको हो । जुडशीतलको दिन बिहानै घरमा भएको बासी पानीले आफूभन्दा कान्छो उमेरका पारिवारिक सदस्य तथा छिमेकीको कपाल भिजाइदिने चलन छ।

आइतबार बिहान जनकपुरस्थित गंगासागर सरोवरको आरती घाटमा समाजका अगुवाले एकअर्काको अनुहारमा हिलो छ्यापेर जुडशीतल मनाए। सो अवसरमा आयोजित कार्यक्रममा प्राध्यापक डा. भोगेन्द्र झाले सामाजिक–सांस्कृतिक सम्पदाको रुपमा रहेको जुडशीतललाई आर्थिक सम्पदाका रुपमा पनि स्थापित गरिनुपर्ने बताए। ‘प्रकृतिको पूजा हुने जुडशीतलले समाजलाई जोड्ने सद्भावको पर्व त छँदैछ’, झाले भने, ‘आगामी दिनमा पर्यटन क्षेत्रसँग जोडेर यसलाई आर्थिक सम्पदाको रुपमा विकास गर्न सकिन्छ।’

प्रदेशसभा सदस्य रामाशिष यादवले अत्यधिक गर्मी हुने तराई मधेसमा जुडशीतल पर्वको अन्यभन्दा फरक विशेषता रहेको बताए। वैशाख महिनाबाट गर्मीयाम सुरु हुने भएकाले हिलो र शीतल पानी छ्यापेर गर्मीको सामना गर्ने क्षमता विकासको काम हुने र यसलाई पर्वको रुपमा मनाउन पाएकाले फरक अनुभूति बोध भएको उनले बताए। ‘जुडशीतलमा इनार, कुवा, पोखरीलगायत पानीको मुहान सफा गर्ने चलन परापूर्व कालदेखि चल्दै आएको परम्परा हो। यसले प्रकृतिको संरक्षण गर्ने माध्यमको रुपमा पुस्तान्तर शिक्षा बनेको छ’, उनले भने।

प्रदेशका मुख्यसचिव राजेश्वरमान सिंहले जुडशीतलले गर्मी मौसममा पनि ठन्डा दिमागले सोच्न सक्ने वातावरण निर्माण गर्ने तर्क गरे। नागरिक दैनिककी निर्देशक शोभा ज्ञवालीले जुडशीतल मानवीय सद्भाव, प्रकृतिको पूजन तथा शीतलताको प्रतीकको रुपमा रहेको भन्दै यो पर्वलाई विस्तार गर्नुपर्ने सुझाइन्। वीरगन्ज र नेपालगन्जजस्ता अत्यधिक गर्मी हुने क्षेत्रमा यो पर्वको विशेष महत्व हुने उनले बताइन्।

कार्यक्रममा जनकपुर स्वर्गद्वार निर्माता समाजसेवी पवन सिंघानीया, एमाले जिल्ला अध्यक्ष राजकिशोर यादव, पर्यटन व्यवसायी संगठनका अध्यक्ष नवीन मल्लिक, नागरिक दैनिकका प्रबन्ध निर्देशक विनोद ज्ञवालीलगायत विभिन्न क्लबका अध्यक्ष तथा सामाजिक अगुवा सहभागी थिए।

प्रकाशित: ३ वैशाख २०७५ ०३:२६ सोमबार

हिलो छ्यापेर मनाइयो जुडशीतल