समाज

६ महिनामा पाथीभरा मन्दिरमा १ करोड ३० लाख बढी भेटी संकलन

चालू आवको ६ महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शनका लागि १ लाख बढी भक्तजन आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन देखि पुस मसान्त सम्ममा १ लाख ६ हजार ६ सय २३ जना दर्शनार्थी मन्दिर पुगेका हुन् । 

क्षेत्र विकास समितिको कार्यालयका सूचना प्रविधि फाँट संयोजक सन्तोष पुर्कुटीका अनुसार चालू आवको ६ महिनाको अवधिमा १ करोड ३० लाख २४ हजार ४ सय ५६ रुपैयाँ भेटी संकलन भएको छ । एक महिना भरी संकलन भएको भेटी सदरमुकामस्थित पाथीभरा क्षेत्र विकास समितिको कार्यालयमा ल्याएर गणना हुने गरेको छ । कुनै महिना अघिल्लो महिनाको केही भेटी रकम पछिल्लो महिनाको भेटिमै गाभेर गणना समेत हुने गरेको छ । भेटी गणना स्थलमा सिसी क्यामेराको निगरानी र प्रहरी कर्मचारीको रोहवर अनिवार्य गरिएको छ ।

क्षेत्र विकास समितिको तथ्याङ्क अनुसार चालू आवको कात्तिक महिनामा सबैभन्दा बढी दर्शनार्थी पाथीभरा मन्दिरको दर्शनका लागि आएका छन् । उक्त महिनामा ६१ हजार १ सय ७३ जना दर्शनार्थी पाथीभरा आएका थिए । यस्तै मंसिर महिनामा २१ हजार १ सय ८० जना,भदौ महिनामा ९ हजार ९ सय ३९ जना, पुस महिनामा ६ हजार ४ सय २७ जना,असोज महिनामा ५ हजार ९ सय ४९ जना र साउन महिनामा १ हजार ९ सय ५५ जना दर्शनार्थी पाथीभरा मन्दिरको दर्शनका लागि पुगेको पाथीभरा क्षेत्र विकास समितिको अभिलेखमा रहेको छ। 

नवरात्र समय असोज महिनामा आएको बाढी र पहिरोका कारण मेची राजमार्ग तथा तमोर कोरिडोरको विभिन्न क्षेत्रमा देखा परेको सडक अवरोध र हेंवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाएपछि उक्त महिनामा तीर्थयात्री अपेक्षाकृत कम भएका थिए । तर कात्तिक महिनामा अघिल्लो आवको सोही महिना भन्दा पनि बढी दर्शनार्थी मन्दिर आए । पाथीभरा मन्दिर आउनका लागि मेची राजमार्ग तथा तमोर कोरिडोर दुबै क्षेत्र प्रयोग गर्न सकिन्छ । चिसोका कारण पाथीभरा मन्दिरको दर्शनमा साबिक वर्षहरूमा पुस महिनामा कम दर्शनार्थी हुने गरेकोमा यसबर्ष झण्डै साढे ६ हजार दर्शनार्थी मन्दिर पुगेका छन् ।

मौसम खुल्ला भएको, घाम लागिरहेकोले चिसोका मात्रा समेत कम हुने भएकोले यसवर्षको हिउँद याममा समेत पाथीभरा मन्दिरमा आउने दर्शनार्थीको संख्यामा कमी नभएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा मन्दिरमा बडादसैँ,तिहार र आसपासको समयमा साबिक भन्दा बढी दर्शनार्थी आउने गर्छन् । यसपछि राम नवमी तथा चैते दसैँ आसपासमा दर्शनार्थीको साबिक भन्दा बढी चाप हुने गर्छ । यसबर्ष मध्य वर्षाको समय साउन–असोज तथा मध्य जाडोको समय मंसिर–पुसको अवधिमै दर्शनार्थी संख्यामा कम भएकोले पाथीभरा मन्दिरमा आउने दर्शनार्थी अघिल्लो बर्ष भन्दा चालू आवमा बढ्ने देखिएको छ । 

प्रकाशित: २ माघ २०८१ १२:१८ बुधबार