पूर्वी भेगकै सबभन्दा पुरानो मानिएको उदयपुरका तावा, कमला र ककुर खोलाको संगमस्थल त्रिवेणीमा मंगलबारदेखि मैनी मेला सुरु भएको छ। हरेक माघ १ देखि दुई साता चल्ने मेला यस वर्ष भने १५ दिन लाग्ने छ। धार्मिक तथा व्यापारिक यो मेला परापूर्वकालदेखि मैनी मेलाका नामले चिनिँदै आएको आयोजकले बताएका छन्।
कटारी नगरपालिका– २ खोक्सास्थित त्रिवेणीमा पहिलो दिनदेखि नै सहभागीहरूको भीड लागेको स्थानीयले बताए। मेला लगाउने जिम्मा नगरपालिकाले स्थानीय युवाहरूलाई सुम्पेको जनाइएको छ।
पहिलो दिन माघ १ गते भक्तजन नदीमा नुहाएर मकर मनाउँदै पाठा, परेवा र हाँसको बलि पुजा गर्ने गर्छन्। त्यसो गर्दा मनोकामना पूरा हुने जनविश्वास छ। त्यसकारण त्यहाँ टाढाटाढाबाट भक्तजन पूजा गर्न र भाकल (गर्छु भन्ने वाचा) बुझाउन आउने गरेका छन्।
मेलामा पूजा आराधना गर्नेको भीड लाग्ने गरेको छ। स्थानीयका अनुसार यहाँ दैनिक ५० देखि एक हजार पशुपक्षीको बलि दिने गरिन्छ। भारतबाट आउने भक्तजनहरू व्यापारभन्दा बढी पूजा गर्नकै लागि आउने गरेको स्थानीय हर्क तामाङले बताए।
कटारी नगरपालिकाका प्रवक्ता तथा २ नं वडाध्यक्ष प्रेमबहादुर थापाका अनुसार कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ, उपप्रमुख गीता खड्का र प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले मैनी मेलाको संयुक्त रूपमा उद्घाटन गरेका छन्। आज सुरु भएको मेला दुई साता अर्थात् माघ १५ सम्म चल्ने वडाध्यक्ष थापाले बताए।
स्थानीय बूढापाकाका अनुसार त्रिवेणीमा लाग्दै आएको मेला पहिला १ महिनासम्म चल्थ्यो। सडक यातायातको सुविधा नभएको पहाड र मधेसबीच जमघट गर्ने यस मेलालाई स्थानीय उत्पादनदेखि दैनिक उपभोग्य वस्तु बिक्री विनिमयको केन्द्रका रूपमा लिइन्थ्यो। मेला सशस्त्र माओवादी जनयुद्धता सुरु भएसँगै बन्द भएको थियो।
साविक त्रिवेणी गाविसका पूर्वसचिव डम्बर पोखरेलका अनुसार मेलामा मधेसका व्यापारी धर्मकर्म र व्यापार–व्यवसाय गर्न नुन, चामल, लत्ताकपडा, चिनी, मसला र घोडा बेच्न मेला आउँथे। यता हिमाली तथा पहाडी भेगबाट भोटे कुकुर, भेडा, च्याङ्ग्रा, घ्यु, सुन्तला, केरा, आलु र भेडाको ऊनबाट बनेका राडीपाखी बेच्न झर्ने गरेको पोखरेलले बताए।
सडक नहुँदा गोरेटो र घोडेटो बाटो भएर ३/४ दिनको पैदल यात्रा गरी मेला आउने र महिना दिनसम्म ढुक्क व्यापार गरी फर्कने गरेको उनी बताउँछन्। बाटोघाटो नभएकाले पहाड र तराईवासीको भेटघाट गर्ने थलो रहेको मेलामा त्यसबेला ठूलाठूला जुवातासका खेल र मदिरा तथा मासु लगायतको ठूलो व्यापार व्यवसाय चल्थ्यो। लेक र बेँसी (तराई) बाट आउने व्यापारीहे एकापसमा वस्तु विनिमय गर्ने गरेको पोखरेल बताउँछन्।
पौराणिक, धार्मिक र सांस्कृतिक इतिहास भएकाले मैनी मेलामा प्रदेश १, मधेस र बागमती प्रदेशसँगै छिमेकी देश भारतको दरभंगा, बिहार, पटना, राजस्थान तथा उत्तरी चीनको तिब्बतबाट समेत भक्तजन र व्यापारी आउने गरेको स्थानीय बताउँछन्।
मेलामा जुवातास र जाँडरक्सीजस्ता अवाञ्छित गतिविधि हुने गरेको भन्दै माओवादी जनयुद्धताका बन्द भएको थियो। ०५६–५७ देखि ०६४–६५ सम्म बन्द भएको मेला गणतन्त्र स्थापनापछि ऐतिहासिक र धार्मिक महत्वको भएकाले पुनः सञ्चालनमा ल्याइएको हो। अर्थराजनीतिसँग सम्बन्धित भएकाले स्थानीय तह पुनर्संरचनासँगै आयोजना गर्न थालिएको मेला १५ दिनसम्म कटारी नगरपालिका आफैंले लगाउँदै आएको छ।
मेलालाई आकर्षक बनाउन बाल उद्यान, रोटे पिङ, मौतका कुवा, विभिन्न खेलकुद गतिविधि र हरेक साँझ विविध सांस्कृतिक कार्यक्रमअन्तर्गत राष्ट्रिय तथा स्थानीय कलाकारले गीत तथा नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ।
प्रकाशित: २ माघ २०८१ ११:०२ बुधबार