समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाले ज्यान गुमाएका छन्।

काठमाडौं, काठमाडौं महानगरपालिका-३२ आकाशे पुल नजिक पार्किङ्ग गरी राखेको बा.३ ख ४८६५ नम्बरको बसमा बा.५२ प ३३०५ नम्बरको मोटरसाइकल ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भई भक्तपुर सुर्यविनायक बस्ने ४० वर्षीय राम तामाङको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

बाँके, नेपालगंज उपमहानगरपालिका-२० बाबाघाट पुलस्थित सडकमा राँझाबाट थपुवातर्फ जाँदै गरेको भे. २ त ११९ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-२० बस्ने २२ वर्षीय महेश बर्माको मृत्यु भएको छ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहस्थित सडकमा नेपालगंजबाट जमुनाहतर्फ जाँदै गरेको भे ९ प २७९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री डुडुवा गाउँपालिका-६ कालाबन्जर घर भएका ५० वर्षीय नन्कु भन्ने शिवशंकर चौहानको मृत्यु भएको छ।

सोमबार साँझ मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बर्दिया, ठाकुरबाबा नगरपालिका-२ बलाती चोकस्थित सडकमा भे ११ प ८२९२ नम्बरको मोटरसाइकल र भे ११ प ४७३८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा भे ११ प ८२९२ नम्बरको मोटरसाइकल चालक ठाकुरबाबा नगरपालिका-२ बस्ने ५२ वर्षीय दिप बहादुर बस्नेतको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय नगर अस्पताल भुरिगाउँमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका भे ११ प ८२९२ नम्बरको मोटरसाइकलमा सवार १ जना र भे ११ प ४७३८ नम्बरको मोटरसाइकल चालकको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको छ।

ललितपुर, ललितपुर महानगरपालिका-२९ हरिसिद्धीस्थित सडकमा साइकल अनियन्त्रित भई दुर्घटना हुँदा साइकलयात्री सोही ठाउँ बस्ने मकवानपुर घर भएका ५२ वर्षीय भिमराज थिङको सोमबार बेलुकी मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।

सर्लाही, बागमती नगरपालिका-५ रेङ्बा टोल पुछरस्थित सडकमा पुतलीचोकबाट सोल्टीतर्फ जाँदै गरेको बा प्र ०२-०२८ प ७५९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक बागमती नगरपालिका-१० सोल्टी बस्ने २५ वर्षीय यज्ञ गौतमको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नवजिवन अस्पताल बरहथवा हुँदै प्रादेशिक अस्पताल मलगंवामा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि स्वाभिमान अस्पताल हरिवन पठाइएको छ।

मोरङ, मिक्लाजुङ गाउँपालिका-३ अधिकारी चोकस्थित सडकमा रमितेबाट धोबेनी बजारतर्फ जाँदै गरेको प्र १-०४-००१ प ३६१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ बस्ने ३४ वर्षीय प्रदिप राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१४ स्थित सडकमा रानीबाट बिराटनगरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४४८३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया हक्री खातुनको सोमबार साँझ मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १ माघ २०८१ १५:४४ मंगलबार