समाज

केन्द्रीकृत सूचना व्यवस्थापन प्रणालीमार्फत नागरिकता प्रदान गर्न ताप्लेजुङ प्रशासन कार्यालयले थाल्यो पहल

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले वडाबाटै केन्द्रीकृत नेपाली नागरिकताको सूचना व्यवस्थापन प्रणालीमार्फत सिफारिस भई आएको विवरणका आधारमा नागरिकता दिन सकिने बताएका छन्।

वडाबाट अनलाइन प्रविधिद्वारा भरिएको पूर्ण विवरणका आधारमा जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण गर्न सक्ने प्रकृयाबारे प्रजिअ शर्माले पालिका स्तरमा छलफल थालेका छन्। मिक्वाखोला गाउँपालिकाको वडा नं २ खोक्लिङमा आयोजित नागरिक सुनुवाइ कार्यक्रममार्फत उनले केन्द्रीकृत नेपाली नागरिकताको सूचना व्यवस्थापन प्रणालीमार्फत नागरिकता वितरण प्रकृया सुरु गर्न सकिने प्रजिअ शर्माले बताए। यसका लागि सबै स्थानीय तहका प्रमुखसँग प्रजिअ शर्माले छलफल गर्ने योजना बनाएका छन्।

मिक्वाखोला पुगेका बेला उनले पालिका अध्यक्ष भक्तबहादुर कार्की, उपाध्यक्ष डण्डु लामा शेर्पा, प्रमुख प्रशासकीय अधिकृत बिमल गौतम र वडा नं २ का वडाध्यक्ष झरेन्द्रप्रसाद थापासँग यस्तो आग्रह गरेका हुन्। प्रजिअ शर्माले यसका लागि यहाँका पालिकाका प्रमुखसँग छलफल गरी सम्बन्धित पञ्जीकरण अधिकारीलाई अनुशिक्षणको व्यवस्था गर्नेबारे जानकारी गराउने योजना बनाएको जानकारी दिए।

केन्द्रीकृत नेपाली नागरिकताको सूचना व्यवस्थापन प्रणाली अन्तरगत नागरिकता लिने व्यक्तिका लागि आवश्यक पर्ने अनुसूची, समावेश गर्नुपर्ने महत्वपूर्ण कागजातसहितको सिफारिस वडा कार्यालयबाट प्रणालीमा ‘अपलोड’ हुने छ। त्यसपछि वडाबाट स्वीकृत भएपछि प्राप्त पिन र सिफारिस फाइल लिएर आएपछि प्रशासनबाट नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको छ। यस प्राणालीमार्फत नागरिकता जारी गर्दा सेवा प्रदायकलाई सेवा प्रदान गर्न र सेवाग्राहीलाई सेवा लिन सहज हुने प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

स्थानीय वडाबाटै विवरण भरिने भएकाले नागरिकताको विवरणमा हुने विभिन्न खाले त्रुटिगत समस्याका धेरै हदसम्म समाधान हुने विश्वास अनुमान गरिएको छ।

प्रकाशित: २८ पुस २०८१ १३:२३ आइतबार

#Socialaffairs