समाज

भक्तपुरमा महादान पर्व माघ १ मा

भक्तपुरमा हुने धेरै प्रकारका जात्रा पर्वमध्येको एक हो, सम्यक महादान पर्व। प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिन यो पर्व भक्तपुरको दुधपाटी मिनीबस पार्कनजिकै नपुखु (पोखरी) को पश्चिमतिर रहेको महाविहारमा दिनभर चल्छ।

भक्तपुर नगरपालिका-१ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा यो पर्व हुने गर्दछ। बौद्ध परम्पराअनुसार यस वर्षको सम्यक महादान पर्वको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

प्रत्येक वर्ष सम्यक संघ भोजनदान पर्वको सञ्चालन चतुब्र्रह्म महाविहारअन्तर्गतको तधिछे खल हाल सम्यक महादान व्यवस्थापन सहयोग समितिले गर्दै आएको छ। यस वर्ष पर्व सम्पन्न गर्ने पालो सप्तचन्द्र बज्राचार्यलगायत उनको परिवारको रहेको छ।

पर्व गर्ने पालो परेका बज्राचार्यका अनुसार पर्व दिनभर चल्ने गर्दछ। पर्वका क्रममा हजारभन्दा बढी शाक्य बज्राचार्यहरू दान लिन बसेका हुन्छन्। यस क्रममा हजारौं भक्तालुले दान दिने गर्दछन्। दान गर्ने महान् पर्व भएकैले यसलाई महादान पर्व भनिएको उनले सुनाए।

पर्व सम्पन्न गर्ने पालो परेको परिवारका सदस्यहरू जयकीर्ति महाविहारमा हप्ता दिनअघिदेखि नै बसोवास गरी पर्वका लागि चाहिने तयारी गर्न थालेका छन्। विशेष प्रकारको पुरी, लड्डु तयार पार्नेलगायत अन्य चाँजोपाँजो मिलाउने कार्यमा व्यस्त छन्। यस वर्ष पर्व अवलोकन गर्नेलगायत सम्यक दान लिने बौद्ध धर्मावलम्बीहरू अघिल्ला वर्षहरूमा भन्दा बढी हुने अनुमान गरिएको छ। त्यहीकारण तयारी पनि सोहीअनुरूप भइरहेको छ।

काठमाडौं उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा तीन सय ५० वर्षभन्दा पहिलेदेखि बौद्ध धर्म परम्पराअनुसार सम्यक महादान पर्व निरन्तर चल्दै आएको छ। भगवान् दिपंकर बुद्धलाई अनुसरण गर्दै काठमाडौंमा प्रत्येक १२ वर्ष एकपटक, ललितपुरमा प्रत्येक पाँच वर्षमा एकपटक र भक्तपुरमा प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिनमा सम्यक महादान पर्व मनाउँदै आएको छ।

प्रत्येक वर्ष तधिछे खलभित्रका परिवारमा ज्येष्ठता क्रमले पर्व सञ्चालन गर्ने पालो जाने र पालो पर्ने खलकले सम्यक संघ भोजन दान र गुठीसँग सम्बन्धित धेरै कार्य गर्नुपर्ने हुन्छ। तधिछे खलका सम्पूर्ण परिवार सम्मिलित भई हाल सम्यक महादान व्यवस्थापन सहयोग समिति गठन भएको छ। विभिन्न पर्वलगायत गुठीका अन्य गतिविधि समितिबाटै व्यवस्थित गर्दै आएको छ।

सम्यक महादानका क्रममा जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा चतुब्र्रह्म महाविहार संघका कुल देवता श्री हेबज्र नैरात्मालाई सबभन्दा पहिले भोजन दान गरिने परम्परा रहेको छ। त्यसपश्चात् लहरै मूल दिपंकर, बाहाछे दिपंकर, झौरबही दिपंकर, थथुबही दिपंकर र कुथुबही दिपंकरलाई भोजन चढाउने गरिन्छ।

सँगसँगै क्रमबद्ध रूपमा विराजमान चारवटा सम्यक द्यो (सुवर्ण दिपंकरका मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मूल गुरुज्यू, गुरुज्यूहरू त्यससँगै लामबद्ध सयौं बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरूलाई सम्यक दान दिने परम्परा रहँदै आएको छ।

भक्तपुर दरबार क्षेत्रसँगै रहेको प्रसिद्ध चतुब्र्रह्म महाविहारका संघ सदस्य जयरत्न बज्राचार्यले नेपाल संवत् ७८७ मा आफ्ना दिवंगत पिता जयदेव बज्राचार्यका नाममा दिपंकर बुद्धलगायत विभिन्न विहारका संघ सदस्यहरूलाई निमन्त्रणा गरेर सम्यक भोजन दान गरी यस पर्वको स्थापना गरिएको प्रमाणित इतिहास पाइन्छ।

उक्त समयमा जयकीर्ति महाविहार जीर्ण अवस्थामा रहेकाले जयरत्न बज्राचार्यबाटै नेपाल संवत् ७९४ मा उक्त विहारको जीर्णाेद्वार गरी सोही वर्ष राजा जय जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रूपमा गरिएको इतिहास पनि रहेको युवा जानकार देवचन्द्र बज्राचार्य बताउँछन्।

प्रकाशित: २८ पुस २०८१ ०७:५१ आइतबार

# Samyak Mahadan festival # Bhaktapur Darbar area