समाज

आगलागीबाट श्रृंगार पसलमा एक करोडको क्षति

म्याग्दीको बेनी नगरपालिका–७ बालमन्दिर चोकमा रहेको एक श्रृंगार पसलको गोदाममा शुक्रबार राति भएको आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। खान श्रृंगार स्टोरको ठूलो र सानो गरी दुई गोदाममा विद्युत् सर्ट भइ लागेको आगलागीबाट जुत्ताचप्पल, सौन्दर्यका साम्रगीसहित कस्मेटिक्सका कच्चा पदार्थ जलेर नष्ट भएको सञ्चालक अन्जित खानले बताए।

‘ठूलो गोदाम नै जलेर नष्ट भएको छ, निकालेको सामान प्रयोग हुने अवस्थामा भए नभएको यकिन छैन,’ संचालक खानले भने। आइतबारदेखि हुने आठौं म्याग्दी महोत्सवका लागि ल्याइएको सजावटसहित अर्डरका सामानहरू समेत रहेको छ।  

राति साढे ८ बजेदेखि लागेको आगो साढे ११ बजे पूर्ण रूपमा निभाइएको थियो। बेनी नगरपालिकाको दमकल, नेपाल प्रहरी, जनप्रतिनिधि तथा स्थानीय बासिन्दा समयमै पुगेकाले पनि थप आसपासमा क्षति हुन नपाएको बताइएको छ। 

खान श्रृंगार म्याग्दीको सबैभन्दा ठूलो खुद्रा तथा होलसेल पसल हो। नेपाल बाल संगठनको भवनमा रहेको उक्त पसलको माथिल्लो तलामा रहेको गोदाम बाहेक अन्यत्र कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रकाशित: २७ पुस २०८१ १०:१९ शनिबार

#Socialaffairs