समाज

खिचरी

संस्कृति

क्षेत्रफलका हिसाबले नेपाल विश्वको एउटा सानो मुलुक भए तापनि भौगोलिक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो। यहाँ विभिन्न भाषा, धर्म, संस्कृति र जातजातिका मानिस बसोबास गर्छन्। तीमध्ये थारु दक्षिणी समथर भूभाग तराईक्षेत्रमा बसोबास गर्ने जाति हो।

नेपालको सन् २०२१ को जनगणनाअनुसार थारुहरूको जनसंख्या १८ लाख सात हजार एक सय २४ रहेको छ, जुन नेपालको चौथो धेरै जनसंख्यामा पर्छ। यो जातिको मुख्य पेसा कृषि हो। अरू जातजातिका जस्तै थारुहरूको पनि आफ्नै मौलिक भाषा, संस्कृति, संस्कार, रहनसहन र चाडपर्व छन्। थारुहरूले मनाउने चाडपर्वहरूमा माघेसंक्रान्ति (खिचरी), फागुपूर्णिमा (फगुवा), चैते दसैं, अन्नत चतुर्दशी (अनत), जितिया, पितृऔंसी (अमोसा), तिहार (सोहराई) र ठुलो एकादशी पर्छन्। यीमध्ये ‘खिचरी’ एउटा प्रमुख चाड हो।

खिचरी थारुहरूको नयाँ वर्ष हो। यो माघ १ गते पर्छ। यो समुदायमा महत्त्वपूर्ण कामहरूको योजना र थालनी यही दिनबाट सुरुवात हुन्छ। यो दिन नेपालीहरूको राष्ट्रिय चाड पनि हो, जुन ‘माघेसंक्रान्ति’ नामले चिनिन्छ। खिचरी पूर्वी नवलपरासीका थारुहरूले भन्ने गरेको नाम हो। यसलाई चितवनका थारुहरूले ‘खिचरा’, पश्चिमका थारुले ‘माघी’, पूर्वका थारुले ‘तिलासंक्रान्ति’ भन्ने गरेको पाइन्छ।

क्षेत्रअनुसार यो चाड मनाउने तरिका र खानपानमा पनि केही भिन्नता पाइन्छ। पूर्वी तराईतिर तिलको लड्डु खाने चलन छ भने मध्यपश्चिमतिर माछा, मासु र रक्सी खाने चलन छ। सुदूरपश्चिमतिर माछा, मासु र रक्सीको मिठो खानपिनसँगै मघौटा नाचगान गरेर धुमधामसँग मनाउने चलन रहेको पाइन्छ।

खिचरी चाड र यसको सुरुवात

खिचरी चाड थारु समुदायमा नयाँ वर्षको रूपमा मनाइन्छ। परम्परागत रूपमा थारुहरू खेतीपाती गर्छन्। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अगाडि थारुहरू नेपालको दक्षिणी जंगलको भूभाग फँडानी गरी खेतीपाती गर्दै आएको तथ्य त्यसबेलाका राजारजौटाहरूबाट थारु नेता र समाजसेवीहरूलाई बकस भएको लालमोहर र स्याहामोहरहरूबाट प्रमाणित हुन्छ। धान थारुहरूको मुख्य खाद्यान्न बाली हो।

 शताब्दीऔंदेखि उनीहरूले खेती गर्ने धान जंगली या स्थानीय जातका हुन्थे। झिनवा, सत्तरी, दुधराज, मनसरा, कनकजिरा, अनदि र बगरी मुख्य धानका जात थिए। यी धानका जातहरू असार–साउनमा रोपेपछि मंसिर महिनामा मात्र पाक्थ्यो। धान काटेर घरआँगनमा ल्याइसकेपछि दाइँ गरेर भित्र्याउन पुस महिनाभरि लाग्थ्यो।

यसरी मुख्य खाद्यान्न धानबाली पुसको अन्तिमतिर भित्र्याइसकेपछि त्यो वर्षका लागि खेतीपातीको अन्त्य भएको मानिन्छ। यसप्रकार पुसको अन्तिम र माघको पहिलो दिनलाई विशेष अवसरको चाडका रूपमा लिइन्छ र धुमधामले मनाइन्छ।

यसरी खुसी र उमङ्गसाथ मनाइने चाडलाई नै खिचरी भनिन्छ। त्यसैले माघ १ गते आफूले उब्जाएको सबैभन्दा राम्रो मानिने मसिनो, रसिलो र सुगन्धित चामलको (जस्तै अच्छामी झिनवा/बासमती) भात पकाइन्छ र दाल, माछा, मासु र मुलाको मिठो परिकार बनाई सम्पूर्ण परिवार र नातागोताहरू बोलाई सँगै खानपिन गर्ने चलन छ। घिउ यो दिनको भोजनका लागि अति आवश्यक मानिन्छ। अनदीको चामल थारु समुदायमा सफाया मानिन्छ। अनदीको चामललाई पानीको तातो बाफमा उसिन्ने चलन छ।

यसरी तयार पारेको चामललाई थारु भाषामा ‘चिचर’ भनिन्छ। माछा पुस मसान्तमा मारिन्छ र खिचरीको बिहान खाइन्छ। हुन त चिचर पुस महिनामा धानदाइँ गर्ने बेलामा बिहान–बिहान खाजाका रूपमा पनि खाने चलन छ। थारु समुदायमा खिचरी मनाउने चलन कहिलेदेखि सुरु भयो भन्नेबारे कुनै लेख र प्रमाण भेटिएको छैन तर यो चाड मनाउने चलन शताब्दीऔंदेखि चलिआएको हुनुपर्ने पुराना थारु पुस्ताको भनाइ छ (बुढा–पुराना थारुहरूसँगको संवाद, २०२३)।

खिचरीको महत्त्व

खिचरी निम्नलिखित कारणहरूले थारुहरूका लागि महत्त्वपूर्ण मानिन्छ:

१. कृषिमा जीविकोपार्जन (वर्तमानको अवस्था केही फरक) गर्ने थारुहरूका लागि यो दिन चलिरहेको कृषि वर्षको अन्त्य र अर्को नयाँ कृषि वर्षको सुरुवातको दिन हो।

२. वर्षभरि कृषिमा आफूले गरेको कडा परिश्रम र प्रमुख बाली धान भित्राएको उपलक्ष्यमा खुसीयाली मनाउने, मिठो खाने र रमाउने दिन हो।

३. घरपरिवारमा कृषिलगायत अन्य नयाँ योजना र कार्यहरूको तय र सुरुवात गर्ने दिन हो।  

४. जाडो मौसमको अन्त्य र गर्मी मौसमको सुरुवात हुन लागेको संकेत पनि हो।

खिचरी मनाउने तरिका

खिचरी मनाउने तयारी मुख्य दिन (माघ १ गते) भन्दा केही दिनअगाडि नै सुरु भए तापनि मुख्यतया निम्न दुई दिनलाई विशेष मानिन्छ, मछुवारी÷माछा मार्ने (पुस मसान्त) र खिचरी (माघ १)।

मछुवारी (माछा मार्ने दिन)

माछा थारुहरूको महत्त्वपूर्ण परिकार हो। चाडपर्वमा त माछा अति आवश्यक परिकारमा पर्छ। फुर्सदको बेलामा नदीखोलामा माछा मार्न जाने थारुहरूको चलन नै हो। खिचरीको मछुवारीको तयारी ५–६ हप्ता अगाडिदेखि नै सुरु हुन्छ। खोलामा माछा अड्याउन रुखका ससाना हाँगा र स्याउला काटी पानीमा राखेर बासस्थान बनाइन्छ। जसलाई ‘झखरा ढबाउने’ भनिन्छ। पछि खिचरीभन्दा एकदुई हप्ता अगाडि दुवाली बनाउने काम सुरु हुन्छ। जसलाई थारु भाषामा ‘सोती’ बनाउने भनिन्छ। यो काम गाउँका प्रायः सबै वा तीनचार परिवार मिलेर गर्ने चलन छ।

माछा मार्ने दिनभन्दा अघिल्लो रात परिवारका कम्तीमा एकएक जना खोलामा सोती (दुवाली) बनाएको ठाउमा आगाको धुनी बनाई रात बस्छन्। अर्को दिन बिहानै चारपाँच बजेतिर दुवाली थुन्छन् र जाल, ढडिया (गोगैली, कोइन) या वानस्पतिक विष प्रयोग गरेर माछा मार्छन्।

कम गहिरो पानी भएको खोलामा पानी फालेर पनि माछा समात्छन्। यसरी माछा मार्दा दिउँसोको बाह्र–एक बज्ने भएकाले घरबाट बिहान नौ–दश बजेतिर भात ल्याइदिन्छन्, जसलाई ‘कलवा’ भनिन्छ। उता घरबाट बिहानै मुख्यतः महिलाहरू पनि दुवाली थुनेको ठाउँमा माछा मार्न आइपुग्छन्। माछा मार्न आउने त्यो समूहलाई ‘मखडाहर’ भनिन्छ।

माछा मार्ने मुख्य समूहले माछा छोपिसकेपछि तिनीहरूका पछाडि छुटेका वा उम्केका माछा छोप्छन्, जसलाई ‘मखडा मार्ने’ भनिन्छ। यसरी माछा मार्ने क्रम दिउँसोसम्म चल्न सक्छ र अन्तमा छोपेका माछा बराबरी भाग लगाउँछन् र आआफ्नो भाग लिएर घर फर्कन्छन्।

घरमा एकातिर बिहानैदेखि रक्सी पार्ने काम भइरहेको हुन्छ भने अर्कातिर अनदि चामलको ‘चिचर’ उसिन्ने काम पनि भइरहेको हुन्छ। मखडा मार्ने महिलाहरू आफूले छोपेका माछा लिएर पुरुषहरूभन्दा केही अगाडि घर आइपुगेका हुन्छन् र माछालाई मूलासँग पकाउँछन्। यो परिकारलाई ‘मुरई–माछर’ भनिन्छ।

यसरी खोलाबाट सबैजना घर आइपुग्ने बेलासम्ममा चिचर, मुरई–माछर र रक्सी तयार भइसकेको हुन्छ, जुन परिवारका सबैजना मिलेर ‘नहारी’ (दिउँसोको खाजा) का रूपमा खुसीसाथ खान्छन्। यसै दिनमा गाउँमा मासुका लागि सामूहिक रूपमा प्रायः सुँगुर पनि काट्ने चलन हुन्छ।

मछुवारीका दिन बेलुका र भोलिपल्ट बिहान चिचर पोल्न एवं आगो ताप्नका लागि धानको भुस (थारु भाषामा बुसा) थुपारेर ‘घौरा’ बनाइन्छ र अँगार राखेर रातभर छोडिन्छ, जुन बिहानसम्ममा जलेर रातो भुङ्ग्रोमा परिणत भइसकेको हुन्छ।

महिलाहरूले बेलुकीको खाना खाइसकेपछि ‘भतकुन’ बनाउँछन्। यो विशेष प्रकारको खानपान हो। भतकुन दिउँसो उसिनेको चिचरलाई डल्लो पारी केरा वा भोर्लाको पातमा पोको पारेर धानको त्यान्द्राले बाँधी तयार पारिन्छ र भोलिपल्ट बिहानै घौराको भुङ्ग्रोमा पोलेर खाजाका रूपमा खाइन्छ।

खिचरी

माघ १ खिचरी चाडको मुख्य दिन हो। भान्सेले बिहान सूर्य उदाउनुभन्दा अगाडि स्नान गरी गाईको गोबर र माटाले भान्सा, खाना खाने ठाउँ (मजघर) र हिँड्ने ठाउँ (सोल्की)देखि घरको मूलढोकासम्म लिपपोत गर्छन् र सुनपानी छर्केर पूरै घर चोख्याउँछन्। यो प्रक्रियालाई थारु भाषामा ‘भन्साउडहल’ भनिन्छ।

यो दिन परिवारका सबै सदस्य नदीमा गई स्नान गर्नुपर्छ। स्नान नगरीकन कोही पनि भान्सामा जान पाउँदैनन्। भान्सेले घर चोख्याइसकेपछि एउटा नाङ्लोमा चामल, दाल, आलु, नुन, तेल, बेसार, खुर्सानी राखेर छुन्छ, अनि मात्र भान्साको कामकाजतिर लाग्छ। अलिपछि घरका सबैजनाले स्नान गरेर नाङ्लोमा तयार पारेका सामग्री छुनुपर्छ। त्यसपछि मात्र खानेकुरा खान मिल्छ। सधैं भोग गरिने अन्न र पकाउनका लागि प्रयोग गरिने सामग्रीहरूलाई यो विशेष दिनमा सम्मान र आदर व्यक्त गर्नुका साथै भान्सामा यी अति आवश्यक खाद्यसामग्रीको कहिल्यै कमी नहोस् भनेर अन्न देवीसँग प्रार्थना गरिएको हो।

अर्को रोचक कुरा यी खाद्यसामग्री खिचरीपछि माग्न आउने पहिलो जोगीलाई ‘सिदा’का रूपमा दिइन्छ। कसैकसैले यस्तो अन्न आफ्ना भान्जाभान्जीलाई दानका रूपमा पनि दिने गर्छन्। घरको मुली वा कुनै पुरुषले सोहराइ (तिहार) मा धोइपूजा गरी मझघरमा (खाना खाने ठाउँ) राखेको हलो र जुवालाई बाहिर निकाली खिचरीको बिहान नदीमा धुनुपर्छ र आफू पनि स्नान गरी हलो र जुवालाई घरमा ल्याउनुपर्छ।

केही बेरपछि घरमुलीले मझघरको पूर्वपट्टि स्थापना गरेका कुलदेवतालाई अक्षता, सालधुप र तोरीको तेलमा बत्ती बाली पूजा गर्नुपर्छ। यो पूजापछि मात्र भान्सामा तयार भएको खाना परिवारका सदस्यलाई खानका लागि अनुमति हुन्छ।

यो बिहान (माघ १ गते) बेलुकी बनाएको भतकुन घौराको भुङ्ग्रोमा पोलिन्छ र स्नानपछि घौराको वरिपरि बसेर खाइन्छ। अनदीको चिचरलाई भोर्ला वा केराको पातमा पोलेको हुनाले पातको मिठो बास आउने र तात्तातै खाइने हुँदा निकै स्वादिलो हुन्छ। यो प्रायः घिउ र मुलामाछाको तरकारीसँग खाइन्छ। त्यसपछिको बिहानको समयमा मासुका लागि कुखुरा र  हाँस काटिन्छ।

भत्कुन खाइसकेपछि विधि पु¥याउन पुरुषहरू एकछिनका लागि हलो जोत्न जानुपर्ने हुन्छ भने महिलाहरू खाना बनाउने तयारीमा लाग्छन्। यो दिनको हलो जोताइको विशेष महŒव हुन्छ। खोलामा बिहानै धोई ल्याएको विशेष हलो (लक्ष्मी पूजाको दिनमा पूजा गरेको) ले खेत जोती नयाँ कृषि वर्षको सुरुवात गरिन्छ।

यदि घरमा दुईतीन हल गोरु छन् भने पूजा गरेको हलोलाई सबैभन्दा अगाडि राखेर जमिन जोत्नुपर्छ र नियमानुसार कम्तीमा तीन फन्को जोत्नैपर्ने हुन्छ। यदि जोत्नलाई बाँझो बारी वा खेत नभए बाली लगाएको खेतमा भए पनि जोत्नुपर्ने हुन्छ।

यो दिनको जोताइ लामो समयसम्म गर्ने चलन हुँदैन किनकि यो दिन धेरै जोत्नुभन्दा पनि पूजा गरेको हलोले धर्तीलाई चिरेर नयाँ कृषि वर्षको शुभारम्भ गर्नु हो र राम्रो उत्पादनशील कृषि वर्षका लागि धर्तीमातासँग अभिलाषा प्रकट गर्नु हो।

यसरी केही बेर खेत जोतेर फर्कंदासम्म यता घरमा खानाका विशेष परिकार लगभग तयार भइसकेका हुन्छन्। यो महत्त्वपूर्ण चाडमा परिवारका चेलीबेटी र गाउँका नजिकका नातागोतालाई बोलाउने चलन हुन्छ। घरका सबै सदस्य र पाहुनाहरू जम्मा भइसकेपछि खानपिन सुरु गरिन्छ।

थारुहरूको चलनअनुसार पहिले रक्सी र माछामासु सितनका रूपमा खाने गरिन्छ। त्यसपछि मात्र मुख्य खाना– भात, दाल, माछा, मासु, सब्जी आदि घिउसँग खाने चलन छ। अनदीको चामलबाट बनाएको जाँडको झोल ‘निजइक झोर’ पनि पिउने गरिन्छ, जुन खासगरी यो चाडमा बनाइन्छ र यस चाडका लागि विशेष पनि मानिन्छ।

यो प्रायः गुलियो र कडा हुन्छ। दाल थारुहरूको दैनिक खानाको अभिन्न भाग होइन तर खिचरीका दिन दाल हुनैपर्छ। त्यसमा पनि उरिदको दाल नै हुनुपर्ने मान्यता छ। माछा पनि यस दिनका लागि नभई नहुने परिकार हो। मछुवारीका दिन मारेका भुरा माछा बेलुकी मुलासँग पकाएर खिचरीका दिनमा खाने चलन छ।

मौसम पनि अझै चिसै हुने भएकाले रातभरि राख्दा पनि बिग्रने डर हुँदैन। यसप्रकार पुस मसान्तको दिनमा पकाएको मुला–माछा माघको १ गते खाने चलन छ। यसकारण ‘खिचरिक दालभात’ र ‘पुसक रिझल माघ’ (पुस महिनामा पकाएर माघमा खाने) भन्ने निकै लोकप्रिय थारु कथन हुन्। खानपिन सकिएपछि बाहिर घाममा बसी भलाकुसारी गरिन्छ। रात परेपछि नजिकका पाहुना बिदाबादी भई आआफ्ना घर लाग्छन् भने टाढाबाट आएका चेलीबेटीहरू दुईतीन दिनसम्म माइतमै पनि बस्ने चलन छ।

शताब्दीऔं अगाडि तराईको जंगलको भूभाग थारुहरूले फडानी गरेर बस्ने र खेतीयोग्य बनाएका तथ्यहरू सत्रौं–अठारौं शताब्दीका राजाहरूबाट थारु नेताहरूलाई बकस भएको कागजपत्रबाट प्रमाणित हुन्छ। त्यसबेला ऐलानी बाँझो जग्गा प्रशस्त हुन्थ्यो र जग्गा राख्न पाउनेबारे कुनै हदबन्दी पनि थिएन। जति मन लाग्यो त्यति जग्गा कमाउन सक्थे। त्यसैले थारुहरूसँग धेरै जग्गा जमिन हुन्थ्यो। उसबेला (५०–६० वर्षअगाडि) जनसंख्या पनि निकै कम थियो र परिवार संयुक्त रूपमा बस्ने चलन थियो।

घरका सदस्यहरूले मात्र आफूसँग भएको जग्गा कमाउन गाह्रो हुन्थ्यो। त्यसकारण खेतीपातीमा सघाउन जिन्सी दिएर ‘हरूवा–चरुवा’ राख्ने प्रचलन थियो। उनीहरूलाई ‘जिराहर’ भनिन्थ्यो। जुन आजकल समाप्त भइसकेको छ। खिचरीको खानपान गरिसकेपछि घरमुलीसँग हरूवा–चरुवाहरूले यो साल पनि त्यहीं बस्ने वा अर्कैकहाँ जाने भनेर आफ्नो निर्णय सुनाउने चलन थियो।

अर्को महत्त्वपूर्ण कुरा परिवारमा नयाँ कार्य र परियोजनाको सुरुवात गर्नु छ, परिवारमा दाइभाइहरूको छुट्टाभिन्न हुनु छ अर्थात् यस्तै कार्य गर्नु छ भने खिचरीको दालभात खाएपछि मात्र काम गर्ने चलन थियो। त्यसैले यस दिनलाई नयाँ काम र योजनाको थालनीको दिनका रूपमा पनि मानिन्छ। 

प्रकाशित: २७ पुस २०८१ ०९:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App