समाज

मोरङको मुख्य सडक द्वन्द्वकालका ४ बटा बम भेटिए

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचामा द्वन्द्व कालको ४ वटा बम फेला परेको छ ।

सडक विस्तार गर्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालती पुल नजिककै  जमिनमुनि गाडेको अवस्थामा ४ वटा सिलिन्डर बम फेला परेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए । उनका अनुसार बिहीबार बिहान ८ बजेतिर मालती पुल आसपास बम छ भन्ने सूचना आएपछि नेपाली सेनाको बम डिस्पोज टोली र बम ‘सर्च’गर्ने टोलीले बम खोज्दा भेटिएको थियो ।

पूर्वपश्चिम सडक विस्तार गर्ने काम भइरहेको छ । त्यस क्षेत्रमा बम रहेको सूचना आएपछि त्यस क्षेत्रबाट सवारीसाधनलाई अन्यत्र डाइभर्सन गरी सवारी सुचारु पारिएको प्रहरीले जनाएको छ ।

सडक विस्तार गर्ने क्रममा माटो खन्दै मालती पुल नजिक पुगेपछि त्यहाँ बम रहेको सूचना आएपछि तत्कालै नेपाली सेनासँग समन्वय गरेर बम सर्च गर्ने काम गरेको बताउँदै, एसपी चिमरियाले भने, ‘बम डिस्पोज टोली र सर्च टोली दुवै एकै साथ परिचालन गर्‍यौँ । सुरुमा त्यहाँ ३ वटा बम छ भन्नै सूचना प्राप्त भए पनि शंका लागेर छेउछाउमा सर्च गर्दा ४ वटा सिलिन्डर बम फेला पर्‍यो । यो बम अहिलेको नभई द्वन्द्व काल मै राखिएको हो ।’

नेपाली सेनाको टोलीले बम नष्ट गर्ने तयारी गरिरहेको छ । राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो । बिहान १० बजेदेखि बम खोजी गर्दा भेटिएका ४ वटा बममध्ये सेनाको टोली एउटा निष्क्रिय पारिसकेको र आजै अन्य ३ वटा निष्क्रिय पार्ने क्रममा रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित: २५ पुस २०८१ १७:०४ बिहीबार