समाज

साइड नदिएको भन्दै यात्रुवाहक जिप तोडफोड, ९ जना पक्राउ

तोडफोडमा परी क्षतिग्रस्त सुमो । तस्विरः महेश्वर

खोटाङ सदरमुकाम दिक्तेलदेखि काठमाडौंका लागि छुटेको यात्रुवाहक जिप टाटा सुमोमाथि आक्रमण गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । बिपी लोकमार्ग भएर काठमाडौँ जाँदै गरेको ना १ ज ६१७२ नम्बरको टाटा सुमोमाथि बुधबार साँझ काभ्रेको भकुण्डेबेँसीस्थित पातले खेतमा तोडफोड भएको थियो।

विपरीत दिशाबाट आउँदै गरेको निजी कारलाई साइड नदिएको भन्दै सुमोमा तोडफोड गर्दा अगाडिको सिसादेखि झ्यालहरू सबैमा क्षति पुगेको छ। खोटाङको तुवाचुङ मारातिका यातायात प्राविद्वारा सञ्चालित सुमोमाथि आक्रमण गर्नेहरूको नाम ठेगाना भने प्रहरीले खुलाएको छैन ।

तोडफोड लगत्तै फरार उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी मिनबहादुर घलेलाई उद्धृत गर्दै प्रालिले जनाए अनुसार तोडफोडको भिडियो क्लिपसहित चालकको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

काठमाडौं जाने यात्रु सवार सुमोमाथि अन्धाधुन्ध तोडफोड भएपछि गाडी भगाएर प्रहरी चौकी पु¥याएको चालक केवल राईलाई उद्धृत गर्दै प्रालिका अध्यक्ष टेकिन्द्र राईले बताए । गाडी तोडफोडको घट्नाबारे प्रहरीलाई जानकारी गराउँदै कारबाही गर्न उजुरी दिएपछि उनीहरु पक्राउ परेको उनको भनाई छ ।

उनका अनुसार तोडफोड गर्नेहरु निजी कार भाडामा लिएर कतै गइरहेको र मादक पदार्थ सेवन गरेको प्रहरीले खुलाएको छ । सामान्य साइड नदिएको निहुँमा सर्वसाधारण सवार सार्वजनिक यातायातमाथि तोडफोड गरेकाले उनीहरुलाई कडा कारबाही गर्न अध्यक्ष राईले माग गरेका छन् । दिक्तेलका यात्रु लिएर मध्य पहाडी लोकमार्ग हुँदै काठमाडौँ गइरहेको जिपमाथि बिच सडकमा तोडफोड भएपछि अलपत्र यात्रुलाई अर्को गाडी व्यवस्था गरेर गन्तव्यसम्म पु¥याइएको छ । 

प्रकाशित: २५ पुस २०८१ १२:२६ बिहीबार