सन्तान नहुँदाका पीडा आ–आफ्ना थिए । कतिले सामाजिक तथा पारिवारिक यातना खेपेका थिए त कति मानिसक पीडामा । विवाह भएको १० देखि २० वर्षपछि सन्तान प्राप्त गरेका दम्पती बुधबार भरतपुरमा जम्मा भएका थिए । त्यसै मध्येका एक थिए गैँडाकोट नगरपालिका–५ स्थित बैगुण्ठ टोलका गोविन्द रिमालका दम्पती । छ महिनाका दुई छोरी काखमा च्यापेर खुसी साट्न स्टेज चढेका रिमाल दम्पतीका आँखामा एक साथ खुसीका आँसु निस्किए ।
'विवाह भएको २० वर्षसम्म बच्चा भएन । बच्चा प्राप्तिका लागि देशका ठुला अस्पताल सबैतिर पुगे । बच्चा नहुने हो कि भन्दै आस मारिसकेका थियौँ,’ काखमा रहेकी छोरीलाई मुसार्दै रिमालले भने 'सन्तान नहुँदा समाजले विभिन्न लाञ्छना लगाउँथे ।’ ४३ वर्षका उमेरमा विवाह गरेका रिमाल ६३ वर्ष पुगे भने श्रीमती ५० वर्ष कटिन् । सन्तान प्राप्तिका लागि दर्जनौँ अस्पताल पुग्दा पुग्दै उमेर ढल्के पनि यो दम्पतीले हार मानेन । 'विवाह भएको २० वर्षमा आमा बन्न सफल भएकी छु,’ उनकी श्रीमती भोजकुमारीले अगाडि थपिन्,'सन्तान प्राप्तिका लागि नगएको कुनै हस्पिटल छैन होला । धामी झाँक्रीकोमा नगएको ठाउँ छैन । अब हुन्न भनेर आस मारेकी थिए । भरतपुर–१०, सिएमएस रोडमा रहेको शिशु फर्टिलिटी क्लिनिकमा पुगेपछि आमा बन्न सफल भएकी छु ।’ उनीहरुले आईभिएफ मार्फत दुई छोरी जन्माएका हुन् । करिब १० लाख रुपैयाँ खर्चिएर सन्तान प्राप्त गरेका यो दम्पती अहिले खुसी छन् ।
भरतपुर–४ की शान्ति कुमालको पीडा पनि उस्तै छ । उनले निःसन्तान प्राप्तिका लागि धेरै संघर्ष गर्नुपरेको सुनाइन् । 'सन्तानको लागि कुन मन्दिर पुगिन होला । कुखुराका भाले अण्डा कति ठाउँमा चढाइन होला’, उनले सन्तान नहुँदाको पीडा पोख्दै भनिन्, 'मैले कमाएको पैसा जति बच्चाको खोजीमा सकेँ । भरतपुरमा रहेको शिशु फर्टिलिटी क्लिनिकमा आएर चिकित्सकको सुझाव अनुसार प्लानिब गरेपछि प्राकृतिक रुपमा नै बच्चा भयो।’ अहिले उपचार पश्चात् आमा बन्न पाउँदा धेरै खुसी लागेको र पहिलेका सबै दुःख र पीडा बिर्सेको उनले बताइन् । अहिले उनमने ६ महिनाको छोरा छ ।
यसरी नै शिशु फर्टिलिटी क्लिनिकले निःसन्तान पनसँग संघर्ष गरिरहेका पाँच सय दम्पतीलाई सन्तान प्राप्तिको खुसी दिन सफल भएको छ । शिशु फर्टिलिटी क्लिनिकले साढे दुई वर्षको अवधिमा निःसन्तानको समस्या भएका पाँच सय दम्पतीलाई वात्सल्य प्रदान गर्न सफल भएको भन्दै बुधबार उत्सव मनाएको थियो । कार्यक्रममा क्लिनिकका सञ्चालक चिरञ्जीवी ढकालले आफूहरू वैवाहिक जीवनको १३ वर्षसम्म पनि वात्सल्यबाट वञ्चित भएपछि आफू जस्तै दम्पतीहरूको पीडामा मलहम लगाउन शिशु फर्टिलिटी क्लिनिकको स्थापना गरेको बताए । क्लिनिक स्थापना गरेर आफ्नो दम्पतीको उपचार पछि आफूहरू आमाबुबा बन्न सफल भएको उल्लेख गर्दै यस अवधिमा आफूहरूले पाँच सय जनाको काख भर्न सफल भएको बताए ।
'सन्तान प्राप्ति नहुँदा घरपरिवारबाट मात्रै नभएर छिमेक र समाजबाटसमेत हिंसा सहनुपर्छ” उनले भने,'सन्तान प्राप्तिका लागि हामीले धेरै मन्दिर, धेरै अस्पताल मात्रै पुगेनौँ कठोर भन्दा कठोर व्रत पनि गरेका थियौँ ।’ सही ठाउँमा सही उपचार गरिएमा कोही पनि निःसन्तान नहुने थाहा पाएपछि आफूहरू जस्तै दम्पतीका लागि उपचार केन्द्र सञ्चालनमा ल्याएर धेरै परिवारको मुहारमा खुसी थप्न सफल भएको ढकालले बताए । श्रीमान् श्रीमती दुवै मिलेर अगाडि बढ्नुपर्ने भन्दै निःसन्तान हुनुमा महिला र पुरुष दुवैको भूमिका बराबर रहेको उनले बताए ।
स्त्रीरोग विशेषज्ञ डा सुजन भुसालले निःसन्तान दम्पतीमा महिला र पुरुष दुवैको परीक्षण गरेपछि दुवैको उपचार एकसाथ सुरु गरिने बताइन् । दुवैको उपचार नियमित गरेपछि उनीहरूमा प्राकृतिक रुपमा सन्तान प्राप्ति हुने अधिक सम्भावना रहेको उनको भनाई छ । प्राकृतिक रुपमा सन्तान जन्माउन असमर्थ दम्पतीका लागि समेत 'टेस्ट ट्युब’ प्रविधिबाट बच्चा जन्माउने प्रविधि आफूहरूले ल्याएको भुसालले बताइन् ।
महिलाको अण्डामा समस्या भएको, बन्ने प्रक्रिया नभएको, अन्य कुनै महिलाको अण्डा लिनुपर्ने भए वा पुरुषको वीर्यमा कुनै खराबी देखियो भने अण्डा र वीर्य झिकेर संयोजन गराइन्छ । यसरी लिइएको अण्डा र वीर्य प्रयोगशालामा हुने उपकरण (इन्कुबेटर) मा तीनदेखि पाँच दिनसम्म राखिन्छ । त्यसपछि विकास भएको भ्रूणलाई महिलाको पाठेघरमा राख्ने प्रक्रियालाई नै आईभीएफ पद्धति भन्ने गरिन्छ ।
स्त्रीरोग विशेषज्ञ एवम् आइभिएफ विशेषज्ञ डा शुभ श्रेष्ठले निःसन्तान पन समस्या देखिएका दम्पतीलाई लाञ्छना लगाउन भन्दा उपचारमा प्रेरित गर्नुपर्नेमा जोड दिइन् । 'समाजमा निःसन्तान दम्पतीलाई लाञ्छना लगाउने गरिन्छ’ उनले भनिन्,'लाञ्छना लगाउनुभन्दा उनीहरूको उपचारमा सल्लाह दिएमा यो समस्या निको हुन्छ ।’ बच्चाको चाहना भएर पनि दम्पतीसँगै भएको तीन वर्षसम्म सन्तान नभएमा चिकित्सकको परामर्श लिनुपर्नेमा श्रेष्ठले सुझाव दिइन् ।
शिशु फर्टिलिटी क्लिनिकको स्थापना कसरी भयो?
शिशु फर्टिलिटी क्लिनिक दाब र चितवनका युवाले स्थापना गरेका हुन् । उनीहरु दुवै जना निःसन्तानको समस्या भोगेपछि भरतपुरमा क्लिनिक स्थापना गरेका हुन् । 'विवाह भएको १० वर्षसम्म पनि सन्तान नभएपछि देशका ठुला अस्पताल पुग्यौँ । समस्यासमाधान हुन सकेन,’ सञ्चालक अभिनास भण्डारीले भने,'सन्तान प्राप्तिका लागि भौँतारिएका दुई जना साथी मिलेर क्लिनिक स्थापना गरेका हौँ ।’ यी दुई युवा स्वास्थ्यकर्मी होइनन् । भण्डारीले औषधीको मार्केटिङ गर्थे भने ढकाल फार्मेसिष्ट हुन् । दुई जनाको नै एउटै समस्या भएपछि चितवन आसपासका व्यक्तिलाई लक्षित गरेर क्लिनिक स्थापना गरिएको भण्डारीले बताए । 'सन्तान प्राप्तिका लागि काठमाण्डौंको वात्सल्य पुग्दा चितवन आसपासका धेरै मानिसहरू निःसन्तान पनको पीडामा रहेको पाएँ । निःसन्तान पनको उपचार विधि पद्धति पनि बुझ्दै गए’, उनले भने 'साथीलाई प्रस्ताव गरेर यहाँ क्लिनिक स्थापना गरेका हौँ अहिले हामी सफल भएका छौँ ।’ आफुले सन्तान प्राप्तिमा सफल भएपछि क्लिनिक स्थापना गरेको उनले बताए । भण्डारीले विवाह भएको १० वर्ष र ढकालले १३ वर्षपछि आइभिएफ मार्फत सन्तान प्राप्त गरेका हुन् ।
सुरुवातमा उनीहरुले आइभिएफ प्रविधि राखेका थिएनन् । यसका लागि काठमाडौं नै जानुपर्ने बाध्यता थियो । अहिले यो प्रविधि यहाँ उपलब्ध छ । हालसम्म २२ जनाले आइभिएफ प्रविधि मार्फत बच्चा जन्माएका छन् । यतिखेर सन्तान प्राप्तिका लागि काठमाण्डौं नै जानुपर्ने बाध्यता हटेको उनले बताए । 'हाम्रो पीडा अरूले भोग्न नपरोस् भनेर आइभिएफ मेसिन ल्याएका छौँ । यसप्रविधिबाट उपचार पद्धति लामो समेत हुन जान्छ । छ महिनासम्म पनि होटेलमा बस्नुपर्ने हुन सक्छ । यसले खर्च बढी हुन्छ,’उनले भने 'चितवन आसपासका मानिसलाई सहजताका लागि हामीले यो प्रविधि ल्याएका हौँ ।’ सुरुवातमा ६० लाख रुपैयाँमा क्लिनिक स्थापना गरेका उनीहरुले सेवा विस्तार गर्दै तीन करोड लगानी पु¥याएका छन् । उनीहरुले दुई जना चिकित्सक समेत राखेका छन् ।
प्रकाशित: २४ पुस २०८१ १७:१६ बुधबार