समाज

स्थलगत रुपमै व्यवसाय दर्ता गर्दै फुङलिङ नगरपालिका

व्यवसायको प्रकृति अनुसार स्थलगत रुपमै व्यवसाय दर्ता समेत हुने गरी फुङलिङ नगरपालिकाले बजार अनुगमन गर्न थालेको छ। फुङलिङ नगरपालिकाका अधिकृत प्रकाश तामाङका अनुसार नगरपालिका सहितका निकायमा दर्ता हुनुपर्ने व्यवसाय दर्ता नभए स्थलगत रुपमै दर्ता गर्ने गरी अनुगमन सुरु गरिएको हो ।

नगरपालिकाका लेखापाल भोलानाथ सिग्देलका अनुसार मंगलवारबाट सुरु भएको अनुगमनका क्रममा २१ वटा पसलको अनुगमन गरिएकोमा १४ वटा नयाँ व्यवसाय दर्ता गरिएको छ । यो कार्यलाई नगर क्षेत्रमा निरन्तरता दिने नगरपालिकाका कर्मचारी तुलसा निरौलाले जानकारी दिइन् ।

नगरपालिकाले व्यवसायको प्रकृति अनुसार दर्ता तथा नवीकरणका लागि व्यवसायीहरूलाई सार्वजनिक सूचना दिएको थियो । सार्वजनिक आह्वान पछि जिल्ला प्रशासन कार्यालयसहितका सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा अनुगमन सहित स्थलगत रुपमै व्यवसाय दर्ताको कार्य थालनी भएको फुङलिङ नगरपालिकाले जनाएको छ ।

अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तु जफत गर्ने,नवीकरण हुन बाँकी रहेकालाई नवीकरणका लागि निश्चित समय प्रदान गर्ने र प्रकृति अनुसारको व्यवसाय दर्ता तत्कालै गर्ने गरीको अभियान चलाइएको नगरपालिकाका अधिकृत तामाङले जानकारी दिए । नगरपालिकाले यसका लागि नियमित कार्य तालिका बनाएर बजार अनुगमनलाई निरन्तरता दिने गरी कार्य योजना समेत बनाएको छ ।

प्रकृति अनुसार व्यवसाय दर्ता तथा नवीकरण,उपभोक्ता अधिकारमैत्री व्यवसाय सञ्चालन,प्रचलित दररेट अनुसारको बिक्री वितरण तथा व्यवसायजन्य क्षेत्रको सफाइ सहितलाई अनुगमनको आधार बनाइएको अनुगमन समितिले जनाएको छ । व्यवसायको वैधानिकता पूरा गर्न तथा उपभोग्य म्याद र प्रचलित दररेटलाई आधार मान्दै नियमित रुपमा अनुगमन गरिने नगरपालिकाले प्रस्ट्याएको छ । 

प्रकाशित: २४ पुस २०८१ १२:५२ बुधबार