समाज

७ जिल्लामा सिडिओ फेरिए, काठमाडौंमा ऋषिराम तिवारी

गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गर्दै सुरक्षा तथा समन्वय महाशाखामा कार्यरत ऋषिरम तिवारीलाई काठमाडौंको सिडिओमा खटाएको छ।

विवादास्पद बनेका सिडिओ जयनारायण आचार्यलाई मन्त्रालय तानेपछि तिवारीलाई यो जिम्मेवारी दिइएको हो।

त्यस्तै, मोरङका सिडिओ प्रेमप्रसाद भट्टराईलाई गृह मन्त्रालय सरुवा गरी उनका ठाउँमा इन्द्रदेव यादवलाई पठाइएको छ। झापामा भने गोपाल अधिकारी सर्लाहीबाट सरुवा भई पुगेका छन्। अधिकारीले झापाका सिडिओ बन्धुप्रसाद बाँस्तोलाको ठाउँ लिएका हुन्, जसलाई गृह मन्त्रालय तानिएको छ।

सर्लाहीमा तुलसीबहादुर श्रेष्ठलाई पठाइएको छ, जो यसअघि ललितपुरका सिडिओ थिए। सुनसरीमा कैलालीका धर्मेन्द्रकुमार मिश्र पुगेका छन् भने कैलालीमा गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख गोगनबहादुर हमाल खटिएका छन्। झापा जाने तयारी गरेका हमाल कैलाली पुगेका हुन्।

यसैगरी, काठमाडौं चाहेका सुनसरीका सिडिओ गृह मन्त्रालय तानिएका छन्। सल्यानका प्रमुख जिल्ला अधिकारी पनि गृह मन्त्रालय सरुवा भएका छन्।

प्रकाशित: २२ पुस २०८१ १९:५४ सोमबार