समाज

रौतहट प्रहरीले नष्ट गर्‍यो पाँच ‘मदिरा भट्टी’

अवैध मदिरा उत्पादन र ओसारपसार रोक्न रौतहट प्रहरीले अभियान तीव्र पारेको छ। यसै क्रममा शनिबार बिहान रौतहट प्रहरीले तीनवटा अवैध मदिरा भट्टी नष्ट गरेको छ।

सदरमुकाम गौर नगरपालिका–५ मा लुकीछिपी सञ्चालन भइरहेका मदिरा भट्टीहरूमा प्रहरीले छापा मारेर ती भट्टीहरू नष्ट गरेको हो।

प्रहरीले भट्टीहरूबाट ७०० लिटर तयारी मदिरा, २८०० लिटर कच्चा पदार्थ, मदिरा बनाउन प्रयोग गरिने ४ थान हण्डा, ८ थान डेक्ची, ३ थान स्टिलको बाल्टिन, ४ थान ग्यास सिलिण्डर, ४ थान ग्यास चुल्हो, १४० थान प्लास्टिक ग्यालेन, र १० थान प्लास्टिक बाल्टिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बरामद सामग्रीमध्ये सबै अवैध मदिरा र कच्चा पदार्थ नष्ट गरिएका छन् भने अन्य सामग्री नियन्त्रणमा लिइएको छ। यसबारे जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा इन्स्पेक्टर उमाशंकर गुप्ताले अवैध भट्टीका संचालकहरूको खोजी भइरहेको जानकारी दिए।

रौतहटका विभिन्न ठाउँमा अवैध मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरी सक्रिय भएको र थप कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको गुप्ताले जनाएका छन्।

प्रकाशित: २० पुस २०८१ २०:०३ शनिबार