समाज

अब शिक्षकलाई पोशाक अनिवार्य

बाजुरा– बुढीनन्दा नगरपालिकाले शिक्षक र विद्यार्थीलाई पोशाक अनिवार्य बनाएको छ। नगरको शिक्षा नीतिमै फरक पहिचान र चिनारीका लागि सबै शिक्षक र विद्यार्थीले विद्यालय समयमा अनिवार्य पोशाक लगाउनु पर्ने उल्लेख गरिएको छ। 

पोशाक सुविधा भएर पनि आफू अनुकुल पोशाकमा विद्यालय जाने हुँदा शिक्षकको मर्यादा र व्यक्तित्वमा समेत समाजको धारणा फरक हुने हुँदा पोशाक अनिवार्य बनाएको नगर प्रमुख पदम कुमार गिरीले बताएका छन्। सबै शिक्षक र सबै विद्यार्थीको चिनारी नगर क्षेत्रमै अगल बनाउने गरी यसै शैक्षिक सत्रबाट लागु हुने बताईएको छ।

नगर कार्यपालिकाको बैठकले शुक्रबार शिक्षा नीति पारित गरेको हो। बुढीनन्दा नगर शिक्षा नीति २०७४ मा सबै परीक्षा नगरपालिका स्तरीय सञ्चालन गर्ने, एउटै प्रश्न र साझा उत्तर पुस्तिका जाँच गर्ने संयन्त्रको विकास गर्ने उल्लेख गरिएको छ।

खस्कीदो शैक्षिक गुणस्तरलाई सुधार गर्न शिक्षा नीतिले ठूलो सहयोग पुग्ने नगर प्रमुख गिरीले बताएका छन्। नगर शैक्षिक पात्रो निर्माण गरी सो बमोजिम विद्यालय सञ्चालन गर्ने र शैक्षिक गतिविधि गर्ने नीतिमा समावेश गरिएको छ।

विद्यालय आफू अनुकुल र मनोमानी चल्ने परिपार्टीको अन्त्य गर्ने गरी नीतिमा नै व्यवस्था गरिएको नगर प्रमुखको भनाई छ। नगरपालिकाको ४ नम्बर वडामा भने डिजिटल हाजिरीको सुरुवाद गरिसकीएको छ।

शिक्षा विकासमा शिक्षकको बेवास्ताले बढेकोले त्यसको संवोधन र नियन्त्रण गर्ने गरी नीतिमा व्यवस्था गरिएको छ। मनोमानी र बेवास्ताको अन्त्यकै लागि शिक्षा नीतिमा कडा नियम समावेश गरिएको छ। 

नगरपालिका स्तरबाटै एक पटक मासिक अनिवार्य अनुगमन गर्ने र अभिभावकलाई थप जिम्मेवार बनाउने र विद्यालयको भौतिक संरचनालाई बलियो बनाउने गरी नीतिगत व्यवस्था गरिएको नगर उपप्रमुख सृष्टी रेग्मीले बताएकी छन् । नगरपालिकामा दुई दर्जन बढी सामुदायिक विद्यालय रहेका छन्। पछिल्लो समय नगरपालिका र गाउँपालिकाले आफ्नै शिक्षा नीति निर्माण गरेका छन्। 

प्रकाशित: १ वैशाख २०७५ १५:३१ शनिबार

अब शिक्षकलाई पोशाक अनिवार्य