समाज

रारामा होटलवालाको ‘ब्रह्मलुट’

मुगुको राराताल किनारमा डाँफे होटलले टाँगेका टेन्ट। तस्बिर : अमृत/नागरिक

राराताल (मुगु) – राजनीतिक शक्तिको आड र रारा राष्ट्रिय निकुञ्जका कर्मचारीसँगको मिलेमतोमा रारातालमा होटल व्यवसायीले ‘ब्रह्मलुट’ मच्चाएका छन्। ताल किनारमा दलका नेताले निकुञ्जलाई कौडीको मूल्य भाडा तिरेर दुई होटल सञ्चालन गर्दै आएका छन्।   

नेपाली सेनाको राशनपानी ठेक्का लिँदै आएका एमाले नेता गोपाल बमले दुई दशकदेखि ‘डाँफे होटल’ चलाएका छन् भने माओवादी केन्द्रका नेता राजु कार्कीले तीन वर्ष अघिदेखि ‘भिलेज हेरिटेज एन्ड रिसोर्ट’।

राजनीतिक पहुँचकै कारण उनीहरूले सस्तोमा निकुञ्जको जमिन र भवन भाडामा मिलाएर होटल चलाएको देखिन्छ। बम मुगुबाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत हुन्।

रारा किनारका डाँफे होटल र भिलेज हेरिटेज एन्ड रिसोर्टले निकुञ्जलाई मासिक क्रमशः २७ सय र ५ हजार रुपैयाँमात्रै भाडा तिर्छन् जब कि तिनले पर्यटकसँग कोठामा एक रात सुतेको मूल्य १५ सय रुपैयाँसम्म असुल्छन्।

बमले चलाएको २०० जना क्षमताको होटलले निकुञ्जलाई मासिक २७ सय रुपैयाँ तथा कार्कीले चलाएको १५० जना क्षमताको रिसोर्टले निकुञ्जलाई मासिक ५ हजार मात्र भाडा तिर्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ।  निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) चन्द्रशेखर चौधरी भन्छन्, ‘होटलवालले निकुञ्जलाई तिर्ने भाडा धेरै सस्तो छ। मेरो कार्यकाल भन्दा अगाडिका हाकिमका पालामा होटलवालाहरूसँग सम्झौता भएको रहेछ।’

चौधरीका अनुसार उनीहरुसँगकोे सम्झौता अवधि केही वर्ष बाँकी भएकाले मात्रै निकुञ्जले तिनलाई हटाउन नसकेको हो। निकुञ्जभित्र होटल नै चलाउनु नहुने पक्षमा आफू रहेको उनले सुनाए। ‘होटल त निकुञ्जको मध्यवर्ती क्षेत्रमा पो बनाउनु पर्छ,’ उनले नागरिकसँग भने।

सिजनमा दिनमै सयौं पर्यटकले दुवै होटल खचाखच हुन्छन्। होटलका सामान्य कोठामा एक रात बसेको १२ सय रुपैयाँ तिर्नुपर्छ भने अट्याच बाथरुमसहितका कोठाको १५ सय रुपैयाँ। त्यस्तै सादा खानाको २५० देखि ३०० रुपैयाँसम्म तिर्नु पर्छ।

सामान्य कटेरोमा चमेना गृहका रुपमा सुरु गरिएको ‘डाँफे होटल’मा अहिले १४ कोठा छन्। त्यहाँको आँगनमा टाँगिएका टेन्टमा समेत गरेर एकै रात २ सय जनासम्म अटाउने होटलका कर्मचारी बलिराज शाही बताउँछन्।

त्यसैगरी ‘भिलेज हेरिटेज एण्ड रिसोर्ट’मा १३ कोठा छन्। त्यहाँ टेन्टमा सहित १५० जना बास बस्न सक्ने होटल सञ्चालक कार्कीले बताए।

कटेरालाई बिस्तार गरेर डाँफे होटलले आफैं काठका ठूल–ठूला भवन बनाएको छ। कार्कीले चाहिँ निकुञ्जले कर्मचारीका लागि भनेर बनाएको दुई तले भवनमै होटल चलाएका हुन्।

डाँफे होटलका कर्मचारी शाहीका अनुसार निकुञ्जसँग उनीहरुको सम्झौता ०७८ सालसम्म छ।  हेरिटेज एण्ड रिसोर्टका सञ्चालक कार्कीले भने १५ वर्षका लागि सम्झौता भएको दाबी गरे।

सम्झौताको एक एक प्रति निकुञ्ज र होटलवालाले राख्ने चलन छ। तर, आगलागीमा परी निकुञ्जमा राखिएको सम्झौताको प्रति खरानी भएको त्यहाँका एक कर्मचारीले जानकारी दिए।

बाँकी सम्झौता अवधिका लागि भाडा बढाउन नसकिने निकुञ्जले जनाएको छ। ‘हामी आफैं भाडा बढाउन सक्दैनौं,’ वार्डेन चौधरी भन्छन्, ‘राष्ट्रिय निकुञ्ज विभाग र वन मन्त्रालयले पत्र लेख्यो भने मात्रै बढाउन सक्छौं।’

रारा किनारका दुवै होटल सामान्य खालका हुन्। पर्यटक त्यहाँ दुखम्सुखम् बस्छन् किनकि सबैलाई त्यही बास पनि नपाइएला भन्ने डर हुन्छ।

दिनदिनै आन्तरिक पर्यटक बढ्दै जाँदा होटलले धान्नै नसक्ने अवस्था छ। निकुञ्ज क्षेत्रमा होटल खोल्न बनाइएको कार्यविधि सरकारले स्वीकृत गरी नसकेकाले समस्या भएको वार्डेन चौधरी बताउँछन्। राराको पर्यटन विकास गर्न सरकारले तुरुन्तै वातावरणमैत्री व्यवस्थित होटल खोल्ने वातावरण मिलाउनुपर्ने देखिन्छ।

कालीकोटबाट मुगु सदरमुकाम गमगढीसम्म सडक सञ्जाल जोडिएपछि रारामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो। हिमाली राष्ट्रिय निकुञ्जमा नेपालीले प्रवेश शुल्क तिर्नु नपर्ने भएकाले बर्सेनी कति नेपाली रारा घुम्छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन। निकुञ्ज प्रवेशद्वारमा नेपाली पर्यटकको रेकर्ड राख्न सके पर्यटन विकास योजना बनाउन सजिलो हुनेछ।

रारा घुम्ने विदेशीको भने रेकर्ड राखिन्छ। निकुञ्जसँग आर्थिक वर्ष ०७३–०७४ मा जम्मा २ सय २२ जना विदेशी रारा घुमेको तथ्यांक छ।

अहिले निकुञ्जका प्रवेशद्वार माझघट्टमा ६, सल्लेरीमा ४ र लामाचौरमा ३  स–साना होटल छन्। माझघट्टबाट आधा घन्टामा रारा किनार पुगिन्छ भने अन्यत्रबाट डेढ–दुई घन्टामा।

रारा क्षेत्रका सबै होटलवालालाई सरसफाई, अतिथि सत्कार र खाना पकाउने तालिम दिनु जरुरी देखिन्छ। साथै जुम्ला–रारा पदमार्ग र राराताल क्षेत्रमा सूचना बोर्ड र संकेत चिह्नसमेत चाहिन्छ।

प्रकाशित: १ वैशाख २०७५ ०४:४७ शनिबार

रारामा होटलवालाको ब्रह्मलुट