समाज

सौराहामा हात्तीको स्वास्थ्य परीक्षण, पेनाल्टी सुट आउटको उपाधि वसन्तीलाई

सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आइतबार सौराहाका हात्तीहरूको स्वास्थ्य परीक्षण गरिएको छ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्य तथा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको आयोजनामा सौराहाको सफारी पर्यटनमा प्रयोग हुँदै आएका निजी स्तरका हात्तीहरूको स्वास्थ्य परीक्षण गरिएको हो।

स्वास्थ्य शिविरमा सौराहाका ४५ वटा हात्तीको स्वास्थ्य परीक्षण गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक डा.अमिर सडौलाले जानकारी दिए।

परीक्षणका क्रममा सबै हात्तीमा संवेदनशील रोग देखा नपरेको उनले बताए। घरमा पालिका हात्तीमा प्राय क्षयरोग देखिने गर्दछ। तर, एक वर्षयता कुनैपनि हात्तीमा क्षयरोग नदेखिएको उनले बताए।

मानिसमा र हात्तीमा एउटै परजीवीको क्षयरोग देखा पर्दछ। शिविरको अवसरमा हात्तीको ज्वरो, खुट्टाको नङ व्यवस्थापन, शरीरमा रहेका घाउ र अन्य संवेदनशील अङ्गको परीक्षण गरी उपचार समेत गरिएको थियो।

डा. सडौलाले सौराहाको सफारी पर्यटनमा प्रयोग भएका हात्तीहरूको नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको भन्दै यहाँका हात्तीहरूको परीक्षण गरी उपचार गरिएको जनाए।

उनले सौराहाका कुनै पनि हात्तीमा अहिले क्षयरोगको संक्रमण नरहेको भन्दै उनले परीक्षण भने गर्दै गर्नुपर्ने बताए। कालोपत्रे सडकमा हिँड्दा हात्तीको खुरमा समस्या देखिने गरेको बताउँदै डा. सडौलाले हात्तीको नङ व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

वसन्ती कलीलाई पेनाल्टी सुटआउनको उपाधि

हात्ती महोत्सवमा भएको हात्तीको फुटबल पेनाल्टी सुटआउटको उपाधि वसन्ती कली समूहले जितेको छ।

युनिक वाइल्ड रिसोर्ट र सौराहा थारु भिलेजको वसन्ती कली समूहलाई विजयी बनाउनका लागि वसन्त कली आफैले गोल गरिन्। रिभर साइड होटल र इको एडमाचर रिसोर्टको टोलीले गोल गर्न सकेन

पेनाल्टी सुटआउट १–१ गोलको बराबरी भएपछि सडनदेथमा पनि पेनाल्टी बराबरी हुँदा गोलाप्रथाबाट थारु कल्चर भिलेज र युनिक वाइल्डलाइफ रिसोर्ट फाइनलमा प्रवेश गरेको थियो। प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो।

क्षेत्रीय होटल संघ चितवन सौराहाले सन् २००४ देखि हात्ती महोत्सव गर्दै आएको छ । २०१६ यता महोत्सवमा हात्ती फुटबल प्रतियोगिता सुरुवात भएको हो ।

हात्तीलाई वनभोज

महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ चितवन सौराहाले हात्ती सुन्दरी र हात्तीहरुलाई मिष्टान्न परिकार सहित वनभोज खुवाएको महोत्सवका संयोजक रामकुमार आर्यलाले बताए।

हात्ती वनभोजमा ड्रागन फ्रुट, स्याउ, उखु, केरा, घाँस, खर्बुजा, भूइँकटहर, मकै, पाउरोटी, सुन्तला, भेलीमा पकाएको चामल, लगायतका खानेकुरा खुवाइएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए।

नेपालमा एक सय ५० वटा हात्ती निजी स्तरमा पालिएका छन्। वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो। कलात्मक रुपमा सजिएका हात्तीले वनभोज खाँदै गरेको क्षण नजिक भएर सेल्फी खिच्नेको भिड रोचक थियो। हात्तीहरूको वनभोज कार्यक्रम आकर्षणको रुपमा रहँदै आएको छ।

दर्जनौँ हात्तीहरू एकसाथ भोज गरिरहँदा उनीहरूमा छुटै रौनकता देखिन्थ्यो भने उनीहरूको भोज देखेर पर्यटक तथा दर्शक दङ्ग थिए।

डुंगादौड प्रतियोगिता

महोत्सव अन्तर्गत भएको डुंगादौड प्रतियोगितामा भरतपुर महानगरपालिकाले प्रतिनिधित्व गरेको डुङ्गा प्रथम भएको छ।

प्रतियोगितामा भरतपुर महानगरको तर्फ प्रतिनिधित्व गरेर राहुल चौधरीले निर्धारित दुरी १२ मिनेट ५१ सेकेण्डमा पार गरेका थिए रहेको डुङा प्रथम भएको हो।

संघका उपाध्यक्ष ओम पाण्डेले उद्घाटन गरेको सो प्रतियोगितामा रत्ननगर नगरपालिका द्वितीय र कालिका नगरपालिका तृतीय भएको महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले जानकारी दिए।

रत्ननगर नगरपालिकाको तर्फबाट कानु वोटे र कालिका नगरपालिकाको तर्फबाट होमबहादुर कुमाले डुङा चलाएका थिए। सौराहा स्थित राप्ती नदीको २ किलोमिटरमा डुङा दौड प्रतियोगिता गरिएको थियो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई महोत्सव समापन समारोहमा शिल्ड र नगद पुरस्कार प्रदान गरिने छ।

प्रकाशित: १४ पुस २०८१ २१:१२ आइतबार