समाज

आर्थिक विकास लगानी बढाउने नेपाली डायस्पोराको प्रतिबद्धता

विश्वका विभिन्न देशमा रहेर हासिल गरेको ज्ञान र पुँजीलाई नेपालको आर्थिक विकासमा लगाउने नेपाली डायस्पोराको प्रतिबद्धता रहेको छ। युनाइटेड नेपाली डायस्फोरा (अन्डो) द्वारा यहाँ आयोजित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा सहभागी विभिन्न देशबाट आएका प्रतिनिधिहरूले समानता, सहकार्य र समावेशीताका सिद्धान्तहरूमा आधारित रहेर विश्वव्यापी डायस्फोरालाई एकजुट गर्दै नेपाल र नेपालीहरूको हितका लागि काम गर्ने जनाएका छन्।

सो अवसरमा वरिष्ठ समाजसेवी र सिएनएन हिरो अनुराधा कोइरालाले विश्वका विभिन्न देशमा रहेर हासिल गरेको पुँजी र ज्ञानलाई मातृभूमिको विकासमा लगाउन आग्रह गर्दै भावी सन्ततिहरूलाई पनि नेपालप्रतिको आस्था अभिवृद्धि गराउन नेपाली डायस्पोरासँग आग्रह गरे।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले मातृभूमिको माया र दायित्वलाई आत्मसात गर्दै आफूले विभिन्न परियोजनाहरूमा लगानी र सहयोग गर्दै आएको उल्लेख गर्दै सरकारले पनि नेपाली डायस्पोरालाई लगानीमैत्री वातावरण मिलाउनुपर्दछ भने।

अन्डोका अध्यक्ष सोनाम लामाले नेपाल र नेपाली डायस्पोरालाई एकताबद्ध गरी मातृभूमिको दिगो भविष्य निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना गरिएको यस संस्था मार्फत जलवायु परिवर्तन र प्रतिभा पलायन जस्ता गम्भीर समस्याहरू एवं युवा पुस्तालाई नेपालको प्रगतिमा परिचालन गर्न विभिन्न रचनात्मक कामहरू भइरहेको बताए।

सम्मेलनको पहिलो प्राविधिक सत्र जलवायु परिवर्तन र बसाइँसराइ विषयमा वरिष्ठ पत्रकार कुन्द दीक्षित, आप्रवासन विशेषज्ञ डा. गणेश गुरुङ, इसिमोडकी डा. अमिना महर्जन र वन तथा वातावरण मन्त्रालयका नरेश शर्माले जलवायु परिवर्तन र बसाइँसराइबीचको सम्बन्ध र यसले पारेको नकारात्मक प्रभावबारे प्रकाश पारेका थिए। दोस्रो सत्रमा नवीनतम् पूर्वाधार र डायस्पोरा विषयमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल, सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुबेर नेपाली र ऊर्जाविद् कुशल गुरुङले नेपालको पूर्वाधार तथा यातायात क्षेत्रमा डायस्पोराले गर्नसक्ने सहयोगबारे प्रस्तुतीकरण दिएका थिए।

यस्तै तेस्रो प्राविधिक सत्रमा नीति र साझेदारी विषयमा नेपला पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा.जीतेन्द्र उपाध्याय र नीति अुसन्धान प्रतिष्ठानकी डा.इन्द्र अधिकारीले विद्यमान नीतिमा रहेका कमीकमजोरीका कारण डायस्पोरासँगको साझेदारीमा देखिएको समस्याबारे धारणा राखेका थिए।

नेपालको दिगो विकासका लागि डायस्फोराको संलग्नता भन्ने नाराका साथ दुई दिनसम्म जारी रहने सो सम्मेलनमा विश्वका विभिन्न देशबाट आएका करिब ७० जना प्रतिनिधिको सहभागिता रहेको छ। सो अवसरमा नेपालको यातायात क्षेत्रमा अनुसन्धानमा सहयोग गर्ने उद्देश्यका साथ एमआइटी ग्रुप फाउण्डेशन र नेपाल सरकारबीच पाँच वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सम्मेलनसँगै आयोजित वार्षिक साधारणसभाबाट संस्थाको नयाँ नेतृत्वको पनि चयन हुनेछ।

प्रकाशित: १४ पुस २०८१ १३:४३ आइतबार

# Global diaspora # Annual General Meeting