समाज

चितवन हात्ती महोत्सव सुरु (तस्बिरहरु)

चितवनको पर्यटकीय क्षेत्र सौराहामा आज (बिहीबार) देखि १८ औं चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ। क्षेत्रीय होटेल संघ नेपाल चितवनको आयोजनामा सुरु भएको महोत्सवको उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समुद्घाटन गरे।

मन्त्री सिंहले हात्तीलाई यातना नदिइकन महोत्सव गर्न सकिने भएकाले सोही अनुसार अघि बढ्नु पर्ने बताए। उनले नेपालको सफारी पर्यटनलाई धानेको सौराहामा गरिएको हात्ती महोत्सवको विरोध गर्नुको कुनै तुक नरहेको बताए। महोत्सव समुद्घाटन अघि वृहत् झाकी सहितको ¥याली निकालिएको थियो।

चितवन राष्ट्रिय निकुञ्ज प्रवेशद्वार टिकट काउन्टरदेखि सुरु भएको शोभा यात्रा महोत्सव स्थल बाघमारा चौर पुगेर समापन भएको थियो। झाकीमा विभिन्न जात जातिका भेषभुषामा सजिएका महिलाहरूको उपस्थिति रहेको थियो भने शोभा यात्रामा हात्ती समेत समावेश थियो । महोत्सवको पहिलो दिन आज मैत्रीपूर्ण हात्तीको फुटबल पेनाल्टी सुट आउट खेलाइएको थियो।

पुस १५ गतेसम्म चल्ने महोत्सवमा हात्ती ऋंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी सुट आउट प्रतियोगिता, हात्ती मैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुङ्गा दौड प्रतियोगिता, ‘चितवनमा पर्यटनको सम्भावना हिजो र आज’ विषयक अन्तरक्रिया, स्थानीय भेषभुषा तथा कला संस्कृति सहित झाँकी प्रदर्शन, महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रवर्द्धन र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको संस्कृति प्रस्तुति रहने महोत्सव संयोजक रामकुमार अर्यालले जानकारी दिए।  व्यवसायीहरूले महोत्सव अवधिमा सौराहा घुम्न आउने पर्यटकहरूलाई पुस १० देखि १६ गतेसम्म होटेल तथा रेस्टुरेन्टमा खाना तथा आवासमा १० प्रतिशत छुट घोषणा गरेका छन्।

सङ्घमा आबद्ध होटेल तथा रेष्टुरेन्टहरुले यो छुट दिनेछन्। महोत्सवविहीन ११ बजेदेखि साँझ ५ बजेसम्म रत्न नगर–७ बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुनेछ। स्वदेशी तथा विदेशी पर्यटकहरू चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनहरूमा वन्यजन्तु अवलोकनकै लागि चितवन आउने गरेका छन् । पर्यटक आवागमन वृद्धि गर्न संघले हरेक वर्ष चितवनहात्तीतथा पर्यटन महोत्सव गर्दै आइरहेको छ।

२०५५ सालदेखि सुरु भएको यस महोत्सवकै कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरूको आवागमन वृद्धि हुने गरेको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए। 

प्रकाशित: ११ पुस २०८१ १७:२९ बिहीबार