समाज

सुत्केरी महिलाको ज्यान जोखिममा

बाजुरा – बाजुराको जगन्नाथ गाउँपालिका–१ ढाँडाकोटकी सुत्केरी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको छ। उहाँ सुत्केरी भएको १८ दिन भयो। बच्चा पाएको १३ दिनपछि लगातार रगत बग्न थालेको विकले बताइन्।

बच्चा पाउनका लागि जगन्नाथ स्वास्थ्य चौकी जाँदा बीचबाटोमै बच्चा पाएर घर गएकी हुँ। बच्चा पाएको १३ दिनपछि मात्र रगत बग्न थालेको विकको भनाइ छ।

उनले घरमा दुई छोरा भएकाले छोरीको आशमा बच्चा एक स्वास्थ्य संस्थामा गएर गर्भपतन गरेको बताइन्। सोही पछिको हाल जन्मेको शिशुपछि रक्तश्राव बढ्दै गएकाले शरीरमा चार प्वाइन्ट रगत भएकाले सुत्केरी आमाको ज्यान जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिएका छन्।

सुत्केरीको शरीरबाट अत्यधिक रगत बगेपछि उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको कुँवरले बताएकी छन्।

सुत्केरी भएकी आमालाई ज्यान जोगाउनका लागि सात प्वाइन्ट रगत चाहिने डाक्टर विश्वकर्माको भनाइ छ। सुत्केरी विकको उचचारमा कार्यालय प्रमुख डा दुर्गा महर्जन संलग्न रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

सुत्केरीको ज्यान बचाउनका लागि जिल्लामा रहेका नेपाली सेना, नेपाल प्रहरीलाई समेत ‘बी’ पोजेटिभ रगत दिन आग्रह गरिएको छ। रगत बैंक नहुँदा जिल्लामा आएका रगत अभावका बिरामीले हैरानी खेप्नुपरेको सेवाग्राहीको गुनासो छ।

जिल्लामा रक्त सञ्चार केन्द्र नहुँदा रगतका लागि गुहार गर्नुपर्ने बाध्यता रहेको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले रक्त सञ्चार केन्द्र स्थापना गरेको भए पनि रगत राख्ने उपकरण भने बिग्रिएकाले खरिद गरिएको बताइएको छ।

रगत राख्ने मेसिन नै बिग्रिएकाले रगत जम्मा गरेर राख्न नमिल्ने एक रेडक्रसको ल्याबमा कार्यरत कर्मचारीले बताएका छन्।   (रासस)

प्रकाशित: ३० चैत्र २०७४ ०९:१४ शुक्रबार

सुत्केरी महिलाको ज्यान जोखिममा