समाज

धनुषामा गाडिएको अवस्थामा महिलाको शव फेला

बुधबार राति धनुषामा एक महिलाको शव फेला परेको छ। मिथिला नगरपालिका-३ हरिहरपुरस्थित मुसहरी टोल बस्ने ४८ वर्षीय रेशमीदेवी मुखियाको शव आफ्नै घरको शौचालय पछाडि जमिनमा गाडिएको अवस्थामा फेला परेको हो।

रेश्मी बुधबार बिहान खाना खाएर घरबाट बेपत्ता बनेकी थिइन्। उनकी बुहारीले खोज्दै जाँदा राति आफ्नै घरपछाडि गाडिएको अव्यवस्था उनको शव फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए।

उनका अनुसार घटनाको विषयमा अनुसन्धानका लागि रेशमीदेवीका श्रीमान् दशैया मुखिया बिनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाइएको छ।

राति घरबाटै मृतकको श्रीमान् दशैयालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइएको प्रहरी निरीक्षक साहले बताए। उनले भने, 'उनको श्रीमान् राति अत्यधिक मदिरा सेवन गरेकाले बोल्न सक्ने अवस्थामा थिएन, अहिले उनको श्रीमानसँग यो विषयमा सोधपुछ गर्दैछौं।'

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ पुस २०८१ ०९:१८ बिहीबार

#NagarikNews #dead_body #Dhanusa