समाज

खोटाङ सुमो दुर्घटनाः गम्भीर घाइते राईको उपचारका क्रममा निधन (अपडेट)

खोटाङको केपिलासगढीमा टाटा सुमो दुर्घटनामा परी गम्भीर घाइते भएका ७२ वर्षीय दुर्गाप्रसाद राईको उपचारका क्रममा निधन भएको छ।

काठमाडौँबाट केपिलासगढी–१ फेदीतर्फ जाँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको थियो।

प्रत्यक्षदर्शीका अनुसार गाडी रोकिराखेको अवस्थामा चालक बाँस हटाउन बाहिर झर्दा गाडी आफैँ ब्याक भएर दुर्घटना भएको हो।

गम्भीर घाइते भएका राईलाई तत्काल उद्धार गरी दिक्तेलस्थित जिल्ला अस्पताल पुर्‍याइएको थियो। तर, राति ८ः३० बजे उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटना लगत्तै फरार भएका गाडी चालक सत्रुधन राई स्थानीय प्रहरी चौकीको सम्पर्कमा आएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

वृद्ध राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ।

प्रकाशित: ११ पुस २०८१ ००:२६ बिहीबार