समाज

सुभाघाट पुल दुर्घटनाको १७ वर्ष: पक्की पुलले हट्यो त्रासदी

२०६४ पुस १० गते पुल चुँडिएको झोलुङ्गे पुल र भेरी नदीमा खसेका तिर्थालुहरु।

 २०६४ पुस १० गते

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेहलकुनामा शुभाघाट पूर्णिमाको मेला लागिरहेको थियो। मेला भर्नका लागि सुर्खेत मात्रै होइन, छिमेकी जिल्लाहरूबाट पनि दर्शनार्थीको ठूलो भीड जम्मा थियो।

मेहलकुना र दहचौरलाई जोड्ने भेरी नदीमाथि झोलुङ्गे पुलमा पनि दर्शनार्थीहरुको ठूलो भीड जम्मा भयो। अत्यधिक भार खेप्न नसकेपछि २०६४ पुस १० गते झोलुङ्गे पुल चुँडियो। भेरी किनारमा मेला हेर्न आएका सयौं मानिसहरु नदीमा खसे। २४ जनाले ज्यान गुमाए, ५० बढी घाइते भए।

२०३६ सालको पुस पूर्णिमाको मेला हेर्न आउँदा भेरी नदीमा डुंगा दुर्घटना भयो। नौ जनाको भेरीमा हेलिएर मृत्यु भयो। शुभाघाट पूर्णिमाको मेला भर्न आउँदा दुई–दुई पटक भएका ठूला दुर्घटनाका कारण सुर्खेतीहरु पुस १० लाई ‘कालो दिन’ का रुपमा सम्झन्छन्। दुई ठूला दुर्घटनामा परेर मृत्यु भएकाहरु ३३ जनाको सम्झनामा गायिका देवी घर्ती र प्रकाश क्षेत्रीले त्यहीँ बेला गीतमार्फत यसरी सम्झेका थिए। 

भाँचिएछन् मुनाहरु चुँडिएछन् फुल

मान्छे मार्ने धराप भयो सुभाघाटको पुल

मेला हेर्न आएका बेला घाइते भएका स्थानीय दीपक पुन मंसिर पूर्णिमा आउन थाल्यो कि यहीँ गीत सम्झन्छन्। ‘भेरी नदीको वारी र पारि बगरमा मेला लागिरहेको थियो, हजारौं मानिसहरु नदी किनारमा थिए। झोलुङ्गे पुलबाट मसहित सयौं मानिसहरुले मेला हेरिरहेका थियौं,’ २०६४ पुस १० गतेको घटना सम्झँदै पुनले भने, ‘लोड धान्न नसकेर होला पुल चुँडिएर नदीमा खसिहाल्यो।’

एकछिन अघिसम्मको मेलाको रमझम कोलाहलमा परिणत भयो। ‘साँच्चै पूर्णिमाको मेलाले १७ वर्षअघिको घटनालाई झलझली सम्झाउँछ,’ उनले भने, ‘अब त्यस्तो घटना कहिल्यै नहोस्।’

झोलुङ्गे पुल चुँडिएकै ठाउँमा तत्कालै नयाँ पुल बन्यो। अहिले नजिकै पक्की पुल पनि सञ्चालनमा छ। ‘अब झोलुङ्गे पुल चुँडिएर कोही पनि भेरीमा बगेर मर्नुपर्ने छैन,’ उनले भने, ‘पक्की पुलले १७ वर्षअघि झोलुङ्गे पुल चुँडिएर मृत्यु भएकाहरूको आत्माले शान्ति पाएको अनुभूति हुन्छ।’

पुल दुर्घटनामा गुर्भाकोटको गुमीका १०, दहचौरका ९, घुमखहरेका २, बाँके, धारापानी र काप्रीचौरका १–१ ले ज्यान गुमाएका थिए। भेरी किनारमा हरेक वर्ष तीन दिनसम्म शुभाघाट मेला लाग्छ। यो वर्ष पूर्णिमा मेला कात्तिक ३० गतेदेखि तीन दिन लागेर सकिएको छ। तर, पुल चुँडिएर मृत्यु वरण गरेका परिवार र घाइतेहरू पुस १० गतेलाई सम्झन्छन्। 

शुभाघाट मेला भर्नका लागि सल्यान, जाजरकोट, दाङ, बाँके, बर्दिया र दैलेखबाट दर्शनार्थी आउँछन्। दुर्घटनाका केही वर्षसम्म यहाँ दर्शनार्थी आउन पनि डराउँथे। अहिले अवस्था फेरिएको छ।

‘अहिले भेरी किनारलाई दुवैतर्फ तटबन्ध गरिएको छ, भेरी नदीमाथि पक्की पुल सञ्चालनमा आएको छ,’ गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले भने, ‘अघिल्लो वर्षदेखि मेलामा पुरानौं रौकन देख्न पाइएको छ।’

उनले १७ वर्षअघिको घटनाले बारम्बार पिरोल्ने गरेको सुनाए। ‘पुलले धान्ने भन्दा धेरै मानिसहरुलाई जान नदिएको भए त्यो घटना सायद हुने थिएन्,’ पुनले भने, ‘त्यहीँ घटनाको सम्झनामा पक्की पुल बनेको छ, अब त्यस्तो घटना कहिल्यै हुँदैन।’ नहोस्।’

यस वर्षपनि मेला भर्नेहरुलाई झोलुङ्गे पुलमा जान दिइएन। पक्की पुल बनिसकेकाले विगतको जस्तै घटना नहोस् भनेर मेला अवधिभर झोलुङ्गे पुल बन्द गरिएको उनले बताए।

मेलामा आउने भक्तजन मेला मात्रै भर्दैनन् सांस्कृतिक कार्यक्रम र किनमेलमा पनि सहभागी हुने अवसर पाउँछन्। मेलामा राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुति रहन्छ।

‘मेलामा आउनेले शुभाघाटको दर्शनसँगै किनमेल र राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति पनि हेर्न पाउनुहुन्छ,’ मेला आयोजना गरेको गुर्भाकोट–८ का वडाध्यक्ष किरण विकले भने, ‘यो पटकको मेला एक लाखबढीले अवलोकन गरेका थिए।’

उपसभापति खड्काद्वारा अवलोकन

नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का पछिल्ला वर्षहरूमा सुभाघाट मेला भर्न जान्छन्। १७ वर्षअघिको घटना लगत्तै उनले पुल चुँडिएकै ठाउँमा पक्की पुल निर्माण गरे।

अहिले मेला भर्न जानेहरुका लागि त्यो पुलले जोडेको छ। भेरी वारिको छिन्चु–जाजरकोट सडक खण्डले भेरी पारीको मदन भण्डारी राजमार्गसँग जोड्ने माध्यम पनि अहिले यहीँ पुल बनेको छ।

मृतकको सम्झनामा बनेको पक्की पुलबाट शुभाघाट मेलाको अवलोकन गर्दै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का।

उपसभापति खड्काले झोलुङ्गे पुल दुर्घटनास्थल नजिकै मृतकको सम्झनामा बनाइएको पक्की पुल उद्घाटनका बेला मृतकहरुको नाम राख्ने जानकारी दिए।

‘२०६४ सालमा झोलुङ्गे पुल दुर्घटना हुँदा घाइतेहरुको उद्धारमा आउँदा दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा पक्की पुल बनाउने घोषणा गरेको थिएँ,’ पूर्व उपप्रधानमन्त्री खड्काले भने, ‘मृतकको सम्झनामा सबैको नाम लेखेर शिलालेख राख्नेछौं।’

खड्काले शुभाघाट मेला स्थानीय कला, संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण रहेको बताए। ‘एक आपसको सम्बन्ध, पारिवारिक, सामाजिक, सांस्कृतिक सम्बन्ध नवीकरण गर्नु यो महोत्सव–मेलाको विशेषता हो,’ उनले भने, ‘हरेक वर्ष शान्तिपूर्ण तरिकाले भव्य रुपमा मेला–महोत्सव मनाउन सबैमा आग्रह गर्दछु।’

प्रकाशित: १० पुस २०८१ १८:२५ बुधबार