समाज

दिनहुँ बरामद हुन्छ गाँजा नियन्त्रणमा आउँदैनन् नाइके

भारतसँग सिमाना जोडिएको बारा र पर्सा जिल्लामा दिनहुँजसो तस्करीको लागुऔषध गाँजा बरामद हुन गरे पनि तस्कर समुहका नाइकेहरू उम्कँदै आएका छन्। राजनीतिक पहुँच र आर्थिक प्रभावले तस्कर समुहका नाइकेहरू कानुनी कारबाहीबाट बच्दै आएका हुन्।

बारा, पर्साका विभिन्न भागबाट पटकपटक ठुलो परिमाणमा प्रहरीले लागुऔषध बरामद गरे पनि मुख्य तस्करहरूलाई पक्राउ गर्नुको साटो भरियाहरूलाई मात्रै पक्राउ पर्ने गरेका छन्। चुरे क्षेत्रमा उत्पादित लागुऔषध गाँजालाई तस्कर समुहहरूले पहिलो चरणमा बारा, पर्साका सीमावर्ती स्थानसम्म भरियामार्फत ढुवानी गराउने र त्यसपछि सीमामा रहने सुरक्षाकर्मीहरूको मिलेमतोमा भारततर्फ लैजाने गरेका छन्।

पुस ८ गते राति इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले बिआर ०१ औ ११०७ भारतीय नम्बर प्लेटको कारमा लुकाएर तेलकुँवाबाट सिम्रौनगढतर्फ लैजाँदै गरेको अवस्थामा ४३ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक नवीन राईले बताएका छन्।

भारतसम्म पुर्‍याउने उद्देश्यले सिम्रौनगढ क्षेत्रमा ल्याउँदै गर्दा प्रहरी चौकी अमृतगन्ज खजारीका प्रमुख मनोककुमार यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीलाई देखेर गाडी चालक फरार भएकाले बरामद गाँजा कसको हो भन्ने पत्ता लगाउन नसकिने अवस्था रहेको प्रहरी निरीक्षक राईले बताए। पुुस २ गते मंगलबार बारा प्रहरीले अमलेखगन्जबाट भारतीय नम्बर प्लेट भएको कारभित्र लुकाएर राखिएको अवस्थामा १५ किलो लागुऔषध गाँजा र कारसहित दुईजना भारतीय नागरिकलाई नियन्त्रणमा लिन प्रहरी सफल भयो।

हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बीआर २२ जे–५३३३ नम्बरको भारतीय नम्बर प्लेट भएको कारलाई पथलैया–हेटौंडा सडक खण्डको जितपुरसिमरा उपमहानगरपालिका– २१ अमलेखगन्जमा चेकजाँच गर्दा गाँजा बरामद भएको बाराका प्रहरी प्रमुख महेन्द्र खड्काले बताए। कारभित्र रहेको बीचको सिटमुनि फलामको फल्स बटम बनाई त्यसैभित्र राखेर भारततर्फ लगिँदै गरेको अवस्थामा कारसहित त्यसभित्र रहेका दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरी खड्काले बताए।

पक्राउ पर्नेमा भारत विहार जिल्ला पूर्वी चम्पारण, मोतीहारी थानाअन्तर्गतका गोबिनगन्जमरा– १४ चन्डीस्थान गाउँका २६ वर्षीय अखिलेशकुमार साह र कारमा सवार १९ वर्षीय राजकुमार पासवान छन्। अखिलेशकुमार कार चालक रहेको खुल्न आएको उनले बताए। गत पुस ४ गते बाराको इलाका प्रहरी कार्यालय अमलेखगन्जले बा.११ च. ७०१२ नम्बरको कारमा लुकाएर राखेको अवस्थामा ९७ किलोग्राम लागुऔषध गाँजासहित दुईजना नियन्त्रणमा लिन सफल भयो।

गाँजासहित पक्राउ पर्नेमा गाडी चालक चितवन राप्ती नगरपालिका– २ गडौली टोलका विष्णु लामा र गाडीमा सवार भरतपुर महानगरपालिका– २४ सिद्धार्थ टोल ४६ का टेकबहादुर गुरुङ रहेको बाराका प्रहरी उपरीक्षक महेन्द खड्काले बताए। इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका– २२ तीन नम्बर पुलस्थित रोडदेखि पूर्व रहेको टावर डाँडाको बिरुवा खोलाको झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध गाँजा राखिएको कारसहित दुवैजनालाई नियन्त्रणमा लिएर थप कारबाही अगाडि बढाइएको प्रहरी उपरीक्षक खड्काले बताए।

गत मंसिर ११ गते बारा प्रहरीले एक सय ७० किलो गाँजासहित दुईजनालाई बुधबार पक्राउ गर्‍यो। पक्राउ पर्नेमा कोल्हवी नगरपालिका– ५ सोनाभार गाउँका मनमतीदेवी चौधरी र रमोद चौधरीलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। यसैगरी सोनाभारका स्थानीय दिनदयाल चौधरीको घरमा लुकाइछिपाइ २१ पोका बनाएर राखिएको ७० किलो गाँजा प्रहरीले बरामद गरेको थियो।

गत साउन ३१ गते पर्सा प्रहरीले भारततर्फ लैजाँदै गरिएको अवस्थामा एक सय ९२ किलो लागुऔषध चरेस र दुई सय ६७ किलो गाँजाको धुलोसहित पर्सा कालिकामाई गाउँपालिका– १ मुडलीका फुलसरिफ मियाँलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको थियो। पटेर्वासुगौली गाउँपालिका– ४ अकवा गाउँबाट पक्राउ गरिएका मियाँलाई नियन्त्रणमा लिनु नेपाल प्रहरीका लागि ठुलो सफलता भएको पत्रकार सम्मेलनमा पर्साका एसपी कुमोध ढुंगेलले दाबी गरे।

लामो सयमदेखि लागुऔषध गाँज र चरेस कारोबारमा सक्रिय रहेको मियाँ नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीहरूको खोजी सूचीमा रहेको प्रहरी उपरीक्षक ढुंगेलले बताएका थिए। नेपालबाट उत्पदित गाँजा भारतसम्म पुर्‍याउन मियाँको गिरोह लामो समयदेखि सक्रिय रहेको पर्सा प्रहरीले जनाएको छ। गत असार ५ गते इलाका प्रहरी कार्यालय अमलेखगन्जले भारतीय नम्बर प्लेटको ट्रकमा लुकाएर ल्याउँदै गरेको दुई सय ७० किलो गाँजासहित भारत बिहार रामगढवा थाना धनारदिउली ग्राम बस्ने अन्तोसकुमार गिरीलाई पक्राउ गरेको थियो।

नारायणगढबाट पथलैया हुँदै भारततर्फ जाँदै गरेको एनएल ०१ ऐन ३०६३ नम्बरको भारतीय ट्रकलाई शंकास्पद लागी चेकजाँच गर्दा ट्रकको क्याबिनभित्र बक्स बनाई राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताएका थिए। जितपुरसिमरा उपमहानगरपालिका– २१ अमलेखगन्जबाट भारतीय नागरिकसहित नियन्त्रणमा लिएको गाजाँसहितको ट्रक भारततर्फ लैजान लाग्दा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक खड्काले बताए।

गत वैशाख १७ गते रतनपुरीबाट ट्रकमा लोड गरी निजगढतर्फ लैजाँदै गरिएको अवस्थामा इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट रतनपुरीको टोलीले दुई सय १६ किलो गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर हाँडीखोला– ६ हाल जितपुरसिमरा उपमहानगरपालिका– २ बस्ने दीपक कोइराला र अर्का ट्रकमा सवार मकवानपुर हेटौंडा उपमहानगरपालिका– ३० बस्ने जिवन घलान रहेका बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताएका थिए।

निजगढ नगरपालिकाको रतनपुरीबाट निजगढतर्फ आउँदै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रकलाई लालपार्कमा चेकजाँच गर्ने क्रममा ट्रकभित्र लुकाइएको अवस्थामा उक्त परिमाणको लागुऔषध फेला परेको थियो। घटनाबारे अनुसन्धान गर्दा उक्त गाँजा भारततर्फ लैजान लागेको अवस्थामा बिच बाटोबाटै प्रहरीले पक्राउ गर्न सफल बनेको दाबी प्रहरी उपरीक्षक खड्काले गरे।

गत वैशाख ६ गते पनि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले सीमावर्ती क्षेत्र पचरौता नगरपालिका– ४ इनर्वाबाट गोली चलाएर २३० किलो लागुऔषध गाँजासहित रौतहट फतुवा विजयपुर नगरपालिका– ४ टेग्राहाका चन्दन पासवानलाई नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी गराए।

भारततर्फ ठुलो परिमाणमा गाँजा तस्करी भइरहेको सूचना पाएपछि त्यसको निगरानी गर्दा लागुऔषध गाँजा बरामद गर्न प्रहरी सफल भएको प्रहरी उपरीक्षक खड्काले दाबी गरे। प्रहरीलाई देखेर तस्करहरू भाग्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिन एक राउन्ड हवाई फायरसमेत गरिएको थियो।

नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख डिआईजी लालमणि आर्चायले प्रायः गाँजा तस्करका नाइकेहरूलाई प्रमाण अभावमा पक्राउ गर्न समस्या हुने गरेको बताएका छन्। तस्करका नाइकेहरू आफू बच्नका लागि चार तह बनाएर भरियामार्फत गाँजा तस्करी गराउने गरेको धेरै घटनाले देखाएको उनले बताए।

लागुऔषध गाँजासहित पक्राउ परेका भरियाहरूसँग सोध्दा उनीहरूलाई मुख्य गाँजाधनीका बारेमा थाहा नहुने गरेका कारणले पनि गाँजा तस्करको नाइकेसमक्ष पुग्न प्रहरीलाई समस्या हुने गरेको उनले बताए। अब गाँजा बरामद हुँदा अनुसन्धान गर्ने प्रहरीहरूलाई त्यसलाई बेच्ने र खरिद गर्ने दुवैजनासम्म पुग्ने प्रमाण जुटाउनेतर्फ लाग्न निर्देशन दिने डिआईजी अचार्यले बताए।

प्रकाशित: १० पुस २०८१ ०९:३८ बुधबार

#bara #NagarikDaily