समाज

पश्चिममा अत्यधिक चिसो

सोमबार साँझ सुदूरपश्चिम प्रदेशबाट भित्रिएको चिसो मंगलबार कर्णाली र लुम्बिनी प्रदेशसम्म पुगेको छ। सोमबार घाम देखिए पनि मंगलबार हल्का वर्षासँगै सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात भएको छ।

वर्षा र हिमपातसँगै बढेको चिसोले पश्चिम नेपालमा जनजीवन प्रभावित भएको छ। मंगलबार बिहान हल्का वर्षा भएको हुम्लामा पछि हिमपात भएको थियो।

हुम्लामा परेको सिजनको दोस्रो हिमपात हो। यहाँ करिब दुई इन्चसम्म हिउँ परेको थियो। हुम्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपात भएको हाम्रा सुर्खेतस्थित वीरेन्द्रनगर संवाददाता गोविन्द केसीले जनाए।

जुम्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएमा अधिकांश ठाउँमा सामान्य हावाहुरी र वर्षा भएको उनको भनाइ छ। उनका अनुसार हिमाली क्षेत्रको तापक्रम माइनस डिग्रसम्म पुगेको छ। कर्णाली र सुदूरपश्चिम ब्यूरोका अनुसार सुर्खेत र नेपालगन्जबाट हुने दैनिक हुने उडानसमेत प्रभावित भएका थिए।

पश्चिम तराईका जिल्ला बुटवल, दाङ, नेपालगन्ज, कोहलपुर, बर्दिया, धनगढी, महेन्द्रनगरमा चिसो पहिलोभन्दा केही बढेको थियो। नेपालगन्जमा मंगलबार बिहानदेखि रातिसम्म अत्यधिक चिसो नै भएको थियो।

हिमपातसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ। बिहानैदेखि हिमपात हुँदा घर बाहिर निस्किनसमेत समस्या भएको हुम्लाका जनक शाहीले जानकारी दिए।

चिसोले ज्यालादारी काम गरेर खाने वर्गलाई समस्या भएको छ। उनीहरु चिसोले गर्दा काममा निस्किन सकेका छैनन्। चिसो बढेसँगै पश्चिम जिल्लामा रुघाखोकीलगायतका संक्रमण देखिएको छन्।

अहिले अस्पतालहरु स्वास्थ्य क्लिनिकहरुमा बिरामीको चाप बढेको छ। आउने बिरामीमध्ये अधिकांशमा रुघाखोकी देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।

प्रकाशित: ९ पुस २०८१ १८:०३ मंगलबार