समाज

ताप्ली ३ ‘बालमैत्री वडा’ घोषित

बालमैत्री घोषणा कार्यक्रममा अध्यक्ष विश्वकर्मालगायत अतिथिहरू। तस्बिर: महेश्वर

उदयपुरको बिकट पहाडी गाउँपालिका ताप्लीको-३ नं. ईनामे ‘बालमैत्री वडा’ घोषित भएको छ। स्थानीय शासन अवलम्बनका विभिन्न ५१ सूचकहरू पूरा गरेसँगै वडालाई बालमैत्री घोषित गरिएको हो।

जम्मा ६ सय ४२ घरधुरी बसोबास रहेको सो वडामा २ हजार ९ सय ८५ जनसङ्ख्यामध्ये १ हजार २ बालबालिका रहेको वडा कार्यालयले जारी गरेको स्थितिपत्रमा जनाइएको छ।

स्थितिपत्रमा जनाइए अनुसार बालमैत्री वडा घोषणा गर्नका लागि वडाभित्र रहेका सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, बालक्लवहरु, युवा क्लबहरू, विद्यालय, कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारण सबैको महत्त्वपूर्ण भूमिका रहेको छ।

आइतबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्मा र उपाध्यक्ष धनामाया मगरले संयुक्त रुपमा बालमैत्री वडा घोषणा गरे। ‘उज्यालो ताप्ली, दिगो विकास र बालमैत्रीसहितको पुर्वधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगार, हरियाली ताप्ली समृद्धिको आधार’ भन्ने मूल नाराका वडालाई बालमैत्री घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले बताए।

हाकिम राईका अनुसार वडालाई बालमैत्री घोषणा गर्ने अभियानमा वल्र्डभिजन ईन्टरनेशनल नेपालको स्थानीय साझेदार संस्थाहरू जाल्पा एकीकृत विकास समाज र मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) ले सहयोग गरेका थिए।

केही समयभित्रै पूरै गाउँपालिकालाई बालमैत्री बनाउने गरी अभियान जारी रहेको भन्दै अध्यक्ष विश्वर्माले गाउँको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, यातायात, भौतिक पूर्वाधार निर्माणमा पनि सबै पक्षको यस्तै सहयोगको अपेक्षा गरेको बताए।

गाउँपालिका उपाध्यक्ष धनामाया मगरले ताप्लीको भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, भाषा लिपी र.(शैक्षिक क्रियाकलापमा बालबालिकाको समग्र विकासमा बालमैत्री वडा घोषणाले ठूलो महत्त्व राख्ने बताइन्।

बालबालिकाकेन्द्रित यस्ता सकारात्मक र सृजनशील कामका लागि आवश्यक बजेट विनियोजन गर्न गाउँपालिकाले प्राथमिकता दिने प्रतिबद्धता पनि उपाध्यक्ष मगरले व्यक्त गरिन्।

प्रकाशित: ९ पुस २०८१ १५:२१ मंगलबार