पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागारमा रहेका एक युवकको मृत्यु भएको छ। लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सिन्धुलीको कमलामाई नगरपालिका-७ का ३० वर्षीय निशान सुनुवारको उपचारका क्रममा मृत्यु भएको हो।
महोत्तरी जिल्ला अदालतको आदेश अनुसार गत असार २१ गते पुर्पक्षका कारागार पठाइएको थियो। आइतबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको थियो। उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरेको जलेश्वर कारागारका सूचना अधिकारी रबिनचन्द्र ठाकुरले जानकारी दिए।
ठाकुरका अनुसार सात महिनादेखि पुर्पक्षका लागि कारागारमा रहेका सुनुवारको आइतबार बिहान करिब ८ बजे अचानक स्वास्थ अवस्था बिग्रिएपछि तत्कालै उपचारको लागि अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा सवा नौ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतक सुनुवारको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ।
प्रकाशित: ८ पुस २०८१ १०:१९ सोमबार