समाज

रविको बयान र गोर्खा मिडियाका लेखापालको कागज बाँझियो

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम हिनामिना प्रकरणमा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

रविले सुरुदेखि नै यो प्रकरणमा आफू निर्दोष रहेको बयान दिइरहेका छन्। विशेषगरी उनी सञ्चालक तथा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा आएको सहकारीको रकमलाई लिएर उनले ‘मलाई थाहा भएन’ भन्दै आफू बच्ने कोसिस गरिरहेका छन्।

पछिल्लो हिरासतयात्रामा कास्की प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयको रहोवरमा लिएको बयानमा पनि सोही कुरा दोहोर्‍याएका छन्। ‘गोर्खा मिडियामा आएको लगानी सहकारीबाट आएको भन्ने कुनै आधार, प्रमाणहरू तत्कालीन अवस्थामा थिएनन्’ भनेर भनेका छन्।

‘सहकारीको रकम अपचलन गर्नमा मेरो कुनै पनि किसिमको मिलेमतो संलग्नता रहेको छैन। उल्लिखित ऐन, कसूर गर्नेहरूको लागि आकर्षित हुन्छ। सहकारीको रकम मेरो पेटमा एक रुपैयाँ बराबर पनि परेको छैन,’ बयानमा रविले भनेका छन्, ‘सहकारीको रकम अपचलन गर्नमा मेरो संलग्नता नभएको कुरा संसदीय छानबिन विशेष समितिले पेश गरेको प्रतिवेदनमा समेत स्पष्ट रूपमा उजागर भई सकेको अवस्था छ। म यी कसूरमा कही कतै, कुनै पनि तवरबाट संलग्न छैन/थिइन।’

तर, प्रहरीले भेट्टाएको तथ्यप्रमाणमा भने रवि लामिछानेका नाममा सूर्यदर्शन सहकारीबाट एक करोडको ऋण जारी भएको छ। ०७८ जेठ ६ गते ५० लाख र सोही वर्ष असार ९ गते थप ५० लाख नगद गरेर एक करोड उनको नामबाट गोर्खा मिडियाको खातामा जम्मा भएको छ। उक्त रकम असार ३१ गते रविको नाममा सूर्यदर्शन सहकारीमा खाता खोलेर वार्षिक १४.७५ प्रतिशत ब्याजदरमा ऋण कायम भएको छ।

त्यसबारे पनि रवि लामिछानेले आफू न कुनै सहकारीमा खाता खोल्न गएको, न हस्ताक्षर रहेको, न ऋण माग फाराम भरेको भन्दै इन्कारी दिँदै आएका छन्।

रविले एकातर्फ सरकारीको रकम गोर्खा मिडियामा आएको थाहा नपाएको, आफ्नो नाम ऋण नलिएको भन्दै बयान दिइरहँदा अर्कातिर उनकै नामको एक करोड ऋणको २१ किस्ता (इएमआई) गरी ३१ लाख ३३ हजार ६४४ रुपैयाँ सूर्यदर्शनलाई तिरेको प्रमाण प्रहरीले फेला पारेको छ। जसको विवरण पनि अदालतमा मुद्दा दर्ता गर्दा अभियोजन पत्रमा उल्लेख गरिएको छ। 

अभियोजनपत्रमा भएको विवरणमा रविका नाममा जारी भएको ऋणको किस्तामा मासिक एकलाख १२ हजारका दरले तिरिएको छ। गोर्खा मिडियाको ग्लोबल आइएमईको खाताबाट सूर्यदर्शन सहकारीको ईन्भेस्टमेन्ट मेगा बैंकको खातामा उक्त रकम भुक्तानी दिइएको छ।  

२१ पटक भुक्तानी दिँदा सात पटक २ महिनाको २ लाख २४ हजारका दरले दिइएको छ भने एकमा एक लाख, अर्को एकमा १ लाख २१ हजार र बााँकीमा एक लाख १२ हजारका दरले भुक्तानी दिइएको छ। यसमा ‘नोटिस’ गर्नुपर्ने पक्ष १८ पटकका भुक्तानी रवि आफै सहभागी देखिन्छन्। १७ पटक उनी आफैले चेक काटेका छन्।

सहकारीको रकम आएको केही थाहा नभएको र सहकारीबाट ऋण नलिएको व्यक्तिले किन किस्ता तिर्न आफै चेक काटे ? त्यत्रो चेक काट्दासम्म किन थाहा भएन ? यो प्रश्न स्वाभाविक उठेको छ। अनुसन्धानका क्रममा प्रहरीले त्यो प्रश्न स्वयं रवि समक्ष पनि प्रस्तुत गरेको अभियोजनपत्रमा उल्लेख रविको बयानमा पनि भेटिन्छ।

त्यसमा पनि रविले ‘नाई मलाई थाहा छैन’ शैलीमा उत्तर दिएका छन्। तर, किस्ता तिर्न काटिएका चेकमा भएको दस्तखत भने आफ्नो नै रहेको उनले बताएका छन्।

रविले भनेका छन्, ‘गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खाता नम्बर ०४०१०१००००५७७ बाट भुक्तानी कारोबारको लागि प्रयोग गरिएका चेकहरू मध्ये चेक नम्बर ००४४४४७७०६ बाट सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाउँमा काटिएको उक लाख १२ हजारको चेक देखाउँदा हेरी पाएँ। उक्त चेकमा भएको दस्तखत बैंकबाट भेरिफाई गरिएको हो भने मेरो हो।’

त्यसपछि रविले गोर्खा मिडिया प्रालिमा चेक दिने प्रणालीमा अध्यक्ष जिबी राईको पूर्ण नियन्त्रण र जिबी ग्रुप अफ कम्पनीजको पूरै निगरानी रहने भन्दै जिबी ग्रुपकी लेखा अधिकृत रविना रिमालमार्फत सिफारिस भएका चेक गोर्खा मिडियाका दुर्ए तह पार गरेर दस्तखत गर्न आफूकहाँ आउने प्राबधान रहेको बताएका छन्।

तर केही चेक आफूले विश्वासका आधारमा हस्ताक्षर गरेर छाड्ने गरेको भन्दै त्यही चेकहरू दुरुपयोग भएको हुनसक्ने बयान रविले दिएका छन्। ‘मलाई लाग्छ प्रस्तुत चेकहरू या त मैले माथि उल्लेख गरे जस्तै मैले विश्वासमा हस्ताक्षर गरेर छोडेको खाली चेकहरूको दुरुपयोग हो,’ रविले भनेका छन्, ‘या त लगानीकर्ता गितेन्द्रबाबु राईको निर्देशन बमोजिम मेरो जानकारी बिना मलाई समेत झुक्यानमा पारी वा पहिला मलाई चेकमा दस्तखत गराई पछि सहकारीको नाउँ लेखेर भुक्तानी गराई मलाई समेत गुमराहमा राख्ने कार्य गरेको चेकहरू हुन सक्छन्।’  

कम्पनीमा कामको चाप र उपत्यका बाहिरको यात्रा गर्नु पर्दाको क्रममा कम्पनीको काम नरोकियोस भनेर कतिपय अवस्थामा खाली चेकमा समेत दस्तखत गरेर छाड्ने गरेको रविले बयान दिएर पन्छिन खोजेका छन्।

रविले यसो बयान दिएपनि गोर्खा मिडियाका तत्कालीन लेखापाल (एकाउन्टेन्ट) सञ्जय अधिकारीले गरेको कागजमा भने तथ्य बाँझिएको छ।

लेखा प्रणालीमा नियन्त्रणको कुरामा भने लेखापाल अधिकारीले रविको बयानसँग मिल्दोजुल्दो कागज गरेका छन्। जसमा गोर्खा मिडियाको सम्पूर्ण हरहिसावको नियन्त्रण जिबी ग्रुप अफ कम्पनीकी लेखा अधिकृत रविना रिमालले नै गर्ने, रविनाकै खटनपटनअनुसार आफू काम गर्ने गरेको बताएका छन्।

यस्तै कम्पनीको खर्च लिस्ट बनाएर पठाएपछि रविनाले चेक लिन बोलाउने, चेक लिन कुमारीपाटी गएका बेला जिबी राई भेटिए उनकै दस्तखत गराउने नभए गोर्खा मिडियामा भौचर भरी पेमेन्ट भौचरमा जिबी, रवि वा अपरेसन हेड पुष्पराज गिरीबाट भौचर स्वीकृत गराएर भुक्तानी पाउनेको नाम र रकम लेखेपछि मात्रै रविले चेकमा अन्तिम दस्तखत गर्ने बयान लेखापाल अधिकारीले दिएका छन्।

‘..उक्त स्वीकृत भएको भुक्तानी भौचरसहित चेकमा भुक्तानी पाउनेको नाम र रकम लेखेर प्रवन्ध निर्देशक रवि लामिछानेकोमा पेस गरेपछि उहाँले चेकमा दस्तखत गर्ने गर्नुहुन्थ्यो,’ प्रहरीसमक्ष गरेको कागजमा अधिकारीले भनेका छन्, ‘त्यसपछि उक्त चेक भुक्तानीको लागि भेन्डरवाला स्वयंलाई भर्पाई गरी दिने, अन्य लोनको किस्ता तिर्ने हकमा म लगायत कर्मचारीहरू रजनी श्रेष्ठ, मदन केसी, सन्तोष ढकालले खातामा जम्मा गर्ने गरेका थियौँ।’ रविले छाडेपछि त्यो काम कुमार रम्तेलबाट हुन थालेको उनले बताएका छन्।

प्रकाशित: ७ पुस २०८१ २१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App