समाज

सर्लाहीको धनकौल गाउँमा ट्र्याक्टर प्रवेशमा रोक

फाइल।

सर्लाहीको धनकौल गाउँपालिका–२ धनकौल गाउँमा ट्र्याक्टर प्रवेशमा रोक लगाइएको छ।

स्थानीयवासीले उखु लोड गरेर गाउँ हुँदै जाने ट्र्याक्टरलाई विद्युत जोखिमका कारण प्रवेशमा प्रतिबन्ध लगाएका हुन्।

गाउँलेहरूका अनुसार ट्र्याक्टरमा अत्यधिक उखु लोड गर्दा विद्युतीय तारहरूमा छोइने समस्या उत्पन्न भएको छ। कतिपय ठाउँमा तार चुँडिने, कतै तारलाई उखुले छोएर विद्युत सर्ट हुने घटनाले गाउँमा करेन्ट लाग्ने र आगलागीको जोखिम बढाएको छ। सावधानी अपनाउन स्थानीयले यस्तो कदम उठाएको स्थानीय राम एकबाल सहनीले जानकारी दिए।

उनका अनुसार ट्र्याक्टरले विद्युत तारमा छोएपछि बत्ती, टिभी, र अन्य विद्युतीय सामग्री बिग्रने समस्या बारम्बार भइरहेकाले गाउँलेहरू आक्रोशित भएका छन्। त्यसमाथि, ट्र्याक्टर चालकहरूले उल्टै स्थानीयहरूसँग विवाद गर्ने गरेपछि ट्र्याक्टर आवागमनमा रोक लगाउन बाध्य भएको सहनीले बताए।

गाउँलेहरूले समस्या समाधान गर्न सरोकारवालाहरूले ध्यान दिनुपर्ने माग गरेका छन्।

प्रकाशित: ७ पुस २०८१ २१:०० आइतबार