समाज

कुलमानलाई आठराई त्रिवेणीका अध्यक्षको प्रश्न : टेबुलमा पुगेको ६ महिनासम्म फाइलको कारबाही किन अघि बढेन?

ताप्लेजुङको एक गाउँपालिकाका अध्यक्षले टेबुलमा पुगेको फाइलको कारबाही ६ महिनासम्म पनि अघि नबढेको भन्दै विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको जवाफ माग गरेका छन्। यहाँको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र (दीपेन) पोमूले घिसिङको टेबुलमा पुगेको फाइलको काराबाही अघि नबढेको भन्दै रोष प्रकट गरेका हुन्।

उनले त्यो फाइलको काम कहिले अघि बढ्छ? भनेर घिसिङलाई प्रश्न समेत गरेका छन्। अध्यक्ष पोमूले घिसिङलाई उक्त फाइलको काराबाही अघि नबढ्नुको कारण बताइदिन र नहुने भए सोझै कारणसहित फिर्ता पठाए आफूले उक्त फाइलका बारेमा वैकल्पिक उपाय अघि बढाउने चुनौती पनि दिएका छन्।

पोमूका अनुसार आठराई त्रिवेणी गाउँपालिकाले ढुङ्गेसाघु–अमरपुर १३२ केभीए प्रसारण लाइनको सामुदायिक उत्तरदायित्वको रकमबाट पालिकामा एक थान एम्बुलेन्स प्राप्तिको प्रकृया घिसिङको टेबुलमा पुगेर अड्किएको दाबी गरेका छन्। उनका अनुसार २०८१ साल असार २७ गतेदेखि गाउँपालिकाले एम्बुलेन्स प्राप्तिका लागि दिएको निवेदन घिसिङको टेबुलमा पुगेर अड्किएको छ। टेबुलमा पुगेको फाइलको काराबाही यथाशीघ्र गरी पालिकाले सुरु गरेको एम्बुलेन्स प्राप्तिको प्रकृयामा सहजीकरण गरिदिनुपर्नेमा विद्युत् प्राधिकरणले अहिलेसम्म फाइल अड्काएर यता न उताको बनाएको पालिका अध्यक्ष पोमूको दुखेसो छ।

पोमूले एम्बुलेन्स जस्तो संवेदनशील विषयमा समेत तुरुन्त सहजीकरण गर्नुपर्ने निकायबाटै भएको ढिलासुस्तीले हुनुसम्मको हैरानी पाएको बताए। उनले फाइलको काराबाही अघि बढाई सहजीकरण गरिदिन वा नहुने भए कारणसहित आफूलाई जानकारी दिन महानिर्देशक घिसिङ र विद्युत् प्राधिकरणको ध्यानाकर्षण समेत गरेका छन्।

प्रकाशित: ७ पुस २०८१ १२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App