समाज

मावि बाँसबोटेमा अक्षयकोष स्थापना

अक्षयकोष रकम हस्तान्तरण गर्दै स्वर्गीय राईकी पत्नी मैयाकुमारी। तस्बिरः नागरिक

खोटाङका खेलाडी सञ्जयकुमार राईले आफ्ना स्वर्गीय बाबु र आमाको नाममा विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका छन्। कराते खेलाडी राईले स्वर्गीय बाउको नाममा आमाको नाम जोडी व्यक्तिगत लगानीमा अक्षयकोष स्थापना गरिदिएका हुन्।  

जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङस्थित श्रीमाध्यमिक विद्यालय बाँसबोटेमा राईले ‘जस–मैयाँ किरात राई चामलिङ लाफेहँछा अक्षयकोष’ स्थापना गरिदिएका हुन्। बाबु जसबहादुर राईको स्मृतिमा राईले आमा मैयाँकुमारी राई र दिदी रिनादेबी र अर्की बहिनी रबिना राईले १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको अक्षयकोष स्थापना गरेका हुन्।  

पूर्व भारतीय सेना जसबहादुरको निधन भएको वर्ष दिन पुगेको अवसर पारेर पुस ५ गते शुक्रबार राईले अक्षयकोष स्थापनाको घोषणा गरे। विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा राईले अक्षयकोष परिचालन समितिका संयोजक ज्ञानेन्द्र राईलाई आमा मैयाँकुमारी र छोरा सौहाद्रबाट नगद रकम हस्तान्तरण गर्दै अक्षय कोष स्थापना गरेका हुन्।  

अक्षयकोष रकमबाट आउने ब्याजको पैसा वर्सेनि विद्यालयमा अध्ययनरत दलित तथा अभिभावकविहीन छात्र/छात्रालाई छात्रवृत्ति दिइने राईले बताए। दलित तथा अनाथ बालबालिकाको शैक्षिक भविष्य सुनिश्चित गर्ने उद्देश्यले बुवा–आमाको नाममा अक्षयकोष स्थापना गरेको राईले बताए।

शैक्षिक अभियन्ता एवं दिक्तेल रुपाकोट मझुवागढी नगरको शैक्षिक सुधार कार्यदल संयोजक सुर्य राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अक्षयकोष स्थापना घोषणा गरिएको हो। कार्यक्रममा जिल्ला समन्वय समितिका पूर्व प्रमुख बबी चामलिङ, नेपाली काँग्रेस खोटाङका प्रवक्ता रोजन राई, काँग्रेस महाधिवेसन प्रतिनिधि सुमनबाबु आचार्य, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष राजेन्द्र राई, चन्दादाता गिरीराज राई, अक्षयकोषदाता प्रेम श्रेष्ठलगायतको सहभागिता थियो। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अक्षयकोष संस्थापकका तर्फबाट स्वर्गी राईका छोरा सञ्जय र छोरी रीनादेवी राईले बाउ आमाको सम्झनामा अक्षयकोष स्थापना गरेको बताउँदै यसको भरपुर सदुपयोग गर्न आग्रह गरे।  

कार्यक्रममा स्वर्गीय जसबहादुरको परिवारले छात्रछात्रालाई खेल खेल्नका लागि २ थान भलिबल र जाली पनि प्रदान गरेका थिए। दिक्तेल लफ्याङमा २०१६ साल साउन १६ गते जन्मेका पूर्व भारतीय सैनिक राईको २०८० पुस ५ गते निधन भएको थियो। 

प्रकाशित: ६ पुस २०८१ १४:०२ शनिबार