समाज

लुटेराहरूद्वारा घरधनीको हत्या, लाखौँको लुटपाट

महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय ७० वर्षीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेराको समूह पसेर निज घरधनी झालाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट गरेका छन्।

घरमा पत्नीसँग मात्रै बस्दै आएका घरधनी सुशीललाई सात÷आठ जनाको समूहमा हातहतियारसहित आएका नकाबधारी लुटेराको समूहले आक्रमण गरी हत्या गरेको र घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र ८० हजार रुपैयाँ नगद लुटेर लगेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए।  

झाकी पत्नी सामान्य घाइते भएको जनाइएको छ। अन्य के कति सरसामान लुटपाट गरेको बारेमा प्रहरी टोली घटनास्थलमा पुगेर खोजबिन गर्दैछ भने घरधनी सुशीलको शव पनि अहिले घटनास्थलमै रहेको जनाइएको छ। रासस

प्रकाशित: ६ पुस २०८१ १०:०४ शनिबार

#Mahottari #NagarikNews