‘माया भनेको बलिदान हो, सहनशीलता हो, र समर्पण हो। यस्तो भाव, जसले पीडा र सङ्घर्षलाई पनि सुन्दरतामा बदल्न सक्छ।’ यो मात्र एउटा भनाइ होइन, यो विवेक पंगेनी र सिर्जना सुवेदीको जीवनगाथाको वास्तविक सार हो।
यो अद्वितीय मायाको कथा हो। जुन कुनै फिल्म वा उपन्यासबाट होइन, वास्तविक जीवनको रंगमञ्चबाट आएको हो।
बर्दियाको बढैयाताल गाउँपालिका-५, राजापुरका विवेक पंगेनी आफ्नो शैक्षिक मेधावी क्षमताका कारण १२ वर्षअघि पूर्ण छात्रवृत्तिमा अमेरिका पुगे। भौतिकशास्त्रमा पिएचडी गरिरहेका उनी एक ध्येयशील व्यक्तित्व थिए।
पिएचडी गर्दै गर्दा उनको भेट सिर्जना सँग भयो। भेटपछि विवेकले जीवनलाई नयाँ दिशा दिए। सिर्जनासँग जीवन बाँड्ने निर्णय गरे। विवेक र सिर्जनाको जीवनसाथीको यात्रा सरल थिएन। तर, उनीहरूको सम्बन्ध सधैं बलियो थियो। भनाैं न कुनै कथा वा चलचित्रजस्तो- सपना र सङ्घर्षले भरिएको।
समयले उनीहरूको जीवनलाई धेरै चोटि चुनौती दियो। विवेककी आमाको निधनले परिवारमा पीडाको आँधी ल्यायो। विवेककी आमा पार्किन्सन्स रोगले थलिएर बितिन्। आमाको निधनपछि विवेक नेपाल फर्किए। आमाको काजक्रिया सकिएपछि पुनः अमेरिका फर्किनुअघि उनी स्वास्थ्य जाँचका लागि अस्पताल पुगे। त्यहीँ उनले आफूलाई ब्रेन क्यान्सर भएको थाहा पाए।
रिपोर्टले उनको क्यान्सर चौथो चरणमा पुगेको देखायो। अमेरिका फर्किएपछि विवेकले उपचारको लामो यात्रा थाले। दुई पटकको सर्जरीले ७० प्रतिशत ट्युमर हटाइए पनि बाँकी ट्युमरका लागि किमोथेरापी र रेडिएसनको आवश्यकता पर्यो। यसले विवेक र सिर्जनाको जीवनयात्रालाई पूरै बदलिदियो। यो केवल एक रोगसँगको लडाइँ मात्र थिएन, यो समय, मनोबल, र माया सबैको परीक्षा थियो।
सिर्जनाले विवेकलाई केवल श्रीमानको रूपमा मात्र नभई साथी, नर्स र सहायकको रूपमा स्याहार गरिन्। उनले विवेकको लागि हरेक सम्भावना खोजिन्।
अमेरिका जस्तो महँगो देशमा उपचारको खर्च जुटाउन गोफन्डमीबाट सहयोग मागिन्। यसरी सङ्कलन भएको आर्थिक सहयोगले विवेकको उपचारलाई केही भएपनि साथ दियो।
सामाजिक सञ्जाल टिकटकमा सिर्जनाले विवेकसँग हाँसो र खुसीका पल सेयर गर्थिन्। ती भिडियोहरूले दर्शकको मन छुन्थ्यो। सिर्जनाको बलियो मनोबल र समर्पणले धेरैलाई प्रेरित गर्थ्यो। उनीहरूको माया र समर्पण देख्ने जो कोहीले भन्ने गर्थे, ‘माया होस् त यस्तो।’
सामाजिक सञ्जालमा विवेक र सिर्जनाको प्रेमकथा भाइरल बन्यो। धेरैले उनीहरूको माया र समर्पणलाई आदर्श प्रेमको रूपमा सम्मान गरे। ‘बुढो नचाउने दिदी’ भनेर चिनिने सिर्जनालाई अब ‘देवी’ को रूपमा हेर्न थालियो।
टिकटकमा सिर्जनाले एक भिडियो शेयर गरेकी थिइन्। जहाँ उनले विवेकको कपाल काट्दै गर्दा आफ्नो कपाल पनि काट्छिन्। यस भिडियोले लाखौं दर्शकलाई रुवायो। उनको त्यो आत्मसमर्पण र माया समाजका लागि प्रेरणा बन्यो।
चौथो चरणको ब्रेन क्यान्सरसँग जुध्दै गर्दा विवेकको स्वास्थ्य झन् कमजोर हुँदै गयो। सिर्जनाको अथक प्रयास, माया, र हौसला पनि विवेकलाई बचाउन पर्याप्त भएन। विवेकले यो संसारलाई बिदा गरे।
उनको निधनले सिर्जनाको जीवनलाई गहिरो पीडामा पारेको छ। सिर्जना मात्र होइन, लाखौँ मानिसलाई दुखी बनाएको छ। ती हरेकले यो जोडीको प्रेम र त्यागलाई कहिल्यै नबिर्सने गरी हृदयमा राखेका छन्।
भनिन्छ, मान्छे दुई पटक मर्छ। पहिलो पटक शारीरिक रूपमा, दोस्रो पटक स्मृतिबाट हराएपछि। तर, विवेक स्मृतिबाट कहिल्यै हराउने छैनन्। सिर्जनाको अद्भुत समर्पण र उनीहरूको प्रेमकथा युगौंसम्म प्रेरणा बन्नेछ।
यो कथा केवल दुःख र पीडाको होइन; यो माया, त्याग र बलिदानको अमर गाथा हो। सिर्जना र विवेकको यो जीवनगाथाले माया साँचो अर्थमा के हो भन्ने कुरा सिकाएको छ। प्रेम, जसले पीडालाई पनि खुसी बनाउँछ। प्रेम, जुन मृत्युले पनि टुटाउन सक्दैन।
प्रकाशित: ४ पुस २०८१ २१:२९ बिहीबार