समाज

सशस्त्रमा एसपीसहित एक दर्जन अधिकृतहरू आन्तरिक छानबिनमा

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न असफल भएको भन्दै एक एसपीसहित एक दर्जन अधिकृतलाई मुख्यालय बोलाएर बयान लिइरहेको छ।

धनुषामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दर्शन गिरीसहित तीन डिएसपी, चार इन्स्पेक्टर दुई वरिष्ठ सई र दुई सई गरी १२ जनालाई हल्चोकस्थित मुख्यालयमा तानेर बयान लिन थालेको हो। सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी कुमार न्यौपानेका अनुसार प्रधानमन्त्री कार्यालय, हेलो सरकार, गृह मन्त्रालयका आएका गुनासोको आधारमा उनीहरुलाई मुख्यालयमा बोलाएर सोधपुछ सुरु गरिएको हो।

कपिलवस्तु कृष्णनगर बिओपीका प्रमुख डिएसपी शैलेन्द्र न्यौपाने, कपिलवस्तु चाकरचौडाका जयराम बस्नेत, मटिहर्वा बाराका विदुर भट्टराईलाई मुख्यालय बोलाएर सोधपुछ थालिएको छ। त्यसैगरी नवराजपुर बिओपी सिराहका इन्स्पेक्टर रोशन थापा, बीओपी अमडुवाका सुनसरीका इन्स्पेक्टर प्रकाशविक्रम कार्की, मोरङस्थित नोचा बिओपी जयबहादुर दथेकुथे  लगायतलाई मुख्यालय बोलाइएको हो।

त्यस्तै धनुषास्थित फूलगाभा विओपीमा कार्यरत गणेश बोहोरा, समसिओपी बिओपी महोत्तरीका कृष्ण गुरुङलाई तानेर सीमा सुरक्षा विभागमा हाजिर गराइएको छ।  ‘जहाँ जहाँ गुनासाहरू छन् त्यहाँबाट कमाण्डरहरुलाई सोधपुछ थालिएको हो, प्रमाणको आधारमा पुष्टि हुने नहुने अहिले केही भएको छैन, आन्तरिक अनुसन्धान चलिरहेको छ’, सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी न्यौपानेले भने।

स्थानीय व्यापारीहरूको सीमा क्षेत्रमा अत्याधिक तस्करी बढेका कारण आफ्नो व्यवसाय नै धराशयी भएको र यसमा सशस्त्र प्रहरीले कडाइ नगरेको गुनासो आएपछि उनीहरुलाई मुख्यालय तानिएको हो। सशस्त्र प्रहरी मुख्यालयले नेपाल भारत सीमा क्षेत्रको तस्करी रोक्नका लागि सम्बन्धित गण र बिओपीलाई निर्देशन दिँदै आएको छ। सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी न्यौपानेका सीमा क्षेत्रमा हुने तस्करीप्रति सशस्त्र मुख्यालयले कडाइका  साथ लागु गर्दै आएको  छ। अहिले पनि सीमा क्षेत्रमा हुने तस्करीलाई रोक्न मुख्यालयले अनुगमन गरिरहेको छ।

प्रकाशित: ४ पुस २०८१ १७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App