समाज

‘शी लिड्स आइकन’अवार्ड प्रदान गरिंदै

महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मान गर्न ‘शी लिड्स आइकन’ अवार्ड यही पुस १९ गते प्रदान गरिने भएको छ।

उक्त कार्यक्रममा स्थानीय तहबाट प्राप्त एक सय ४० आवेदनमध्ये निर्णायक मण्डलद्वारा छनोट गरिएका २७ प्रेरणादायी महिला जनप्रतिनिधिबाट छनोट गरी उत्कृष्ट तीनलाई ‘आइकन’ घोषणा गरिनेछ।

प्राप्त आवेदनमध्ये कोशी प्रदेशबाट २४, मधेश प्रदेशबाट १४, बागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट ११, लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट १६ र सुदूरपश्चिम प्रदेशबाट १५ महिला जनप्रतिनिधि सहभागी थिए।

निर्णायक मण्डलका सदस्य अष्टलक्ष्मी शाक्य (राजनीतिक क्षेत्र), सरु जोशी (सामाजिक क्षेत्र), र चारु चङ्गा (मिडिया क्षेत्र) ले हरेक प्रदेशबाट उत्कृष्ट प्रतिनिधि चयन गरेका छन्।

जनमतका लागि कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट ७, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिम प्रदेशबाट तीन जना प्रतिनिधि छनोटमा परेका छन्।

कार्यक्रममा ‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहिता’ जस्ता क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने महिलालाई विशेष सम्मान गरिने छ।

आयोजक संस्थाकी अध्यक्ष पूजा कोइरालाका अनुसार कार्यक्रममा तीन हजार बढीको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा स्थानीय तहमा उत्पादित सामग्रीको प्रदर्शनी, सूचना केन्द्र र स्टल रहने आयोजकले जनाएको छ।

कल्प इम्पावर वेमेन नेपालद्वारा आयोजित यस कार्यक्रमलाई महिला सशक्तीकरणको नयाँ दिशामा लैजाने युवा पुस्ताको प्रयासका रूपमा हेरिएको छ।

महिला सशक्तीकरण, उद्यमशीलता, र नेतृत्वलाई प्रवर्द्धन गर्न आयोजना गरिने यो कार्यक्रमले स्थानीय तहका जनप्रतिनिधिको सशक्त भूमिका उजागर गर्दै देशभरका महिलालाई प्रेरणा दिने अपेक्षा गरिएको छ।

प्रकाशित: ४ पुस २०८१ १३:१८ बिहीबार

# SHE LEADS ICON # Kalp Empower Women Nepal