समाज

मुर्कुची–रौतापाखेरी सडक निर्माण कार्य जारी

उदयपुरको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरी जोड्ने छोटो दूरीको सडक निर्माण कार्य जारी छ। त्रियुगा नगरपालिका ७, उदयपुरगढी गाउँपालिका ७ र रौतामाई गाउँपालिका ७ स्थित संगमचोक नजिकैको मुर्कुची बजारदेखि रौतामाई ६ स्थित रौता पोखरी जोड्ने सडकको निर्माण कार्य मध्यमा पुगेका हो।

कालोपत्रेसहित स्तरोन्नति सडकको कच्ची ट्र्याक खन्ने काम सकेर मोड सुधार, नाला निर्माण र रिटेरिङ वाल निर्माण कार्य धमाधम भइरहेको गाउँपालिकाले जनाएको छ। रौतामाईका अध्यक्ष वीरेन्द्रकुमार मगरका अनुसार मुर्कुर्चीदेखि रौता पोखरी जोड्ने सो सडक बनेपछि प्रदेशकै महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल रौता पोखरी पुग्न छोटो दूरीको नाका खुल्ने छ।

रौता पोखरीमा सक्दो धेरै पर्यटक भित्र्याउने उद्देश्यले चारैतिरबाट सडक सञ्जाल सहज बनाउने उद्देश्यले उक्त सडक निर्माण कार्य थालिएको अध्यक्ष मगरले बताए। यो सडक मुकुर्ची भएर सदरमुकाम गाईघाट तथा कटारी, चौदण्डीढी र बेलका नगरदेखिसमेत सबभन्दा छिटो रौता पोखरी पुग्न सकिने छोटो बाटो हो। मुर्कुचीको छौड्याहा खोलादेखि रौता पोखरी जोड्ने नयाँ पक्की सडकका लागि नेकपा (माओवादी केन्द्र)का नेता तथा तत्कालीन प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई (हिमाल)ले आर्थिक वर्ष ०७९÷०८० मा ‘संघीय रणनीतिक सडक योजना’ अन्तर्गत ४ अर्ब लागतको वह वर्षीय योजना स्वीकृत गराएका थिए। मा निर्माण सुरु भएको बहु वर्षीय योजना हो।

जस अनुसार गत वर्ष बजेट सुनिश्चित गरेर काम सुरु भएको अध्यक्ष मगरले बताए। बहु वर्षीय योजना अन्तर्गत गत वर्ष विनियोजित २५ करोड ६५ लाख १२ हजार १ सय ३५ रुपैंयाको ठेक्का गत असारमै लागेर काम थालिएको हो। पहिलो वर्ष मुर्कुची बजारदेखि तेलतेले हुँदै रौता पोखरी नजिकै चौकीभन्ज्याङसम्मको ७.५ किलोमिटर लामो सडक निर्माणाधीन छ। १० मिटर चौडाभित्र ८ मिटर सडक कालोपत्रे गर्ने प्राविधिक इस्टीमेट रहेको निर्माण कम्पनी लामा/अजय/शम्भु जेवीले जनाएको छ।

२ वर्ष ३ महिनाभित्र काम सकेर हस्तान्तरण गर्ने गरी सडक निर्माणको काम ०७९ असार २९ गते सरकारसँग सम्झौता गरे पनि साउनदेखि मात्र काम थालेको निर्माण कम्पनी प्रतिनिधि अजय राउतले बताए। राउतका अनुसार अस्फाल्ट प्रविधिको कालोपत्रे सडक गुणस्तरीय र तोकिएकै म्यादभित्र बनाइसक्ने लक्ष्यका साथ कम्पनीले काम गरिरहेको छ।

सो सडक बनेपछि मुर्कुचीदेखि १५ मिनटमा रौता पोखरीको दर्शन गर्न पुग्न सकिने अध्यक्ष मगरले बताए। हालको चालु रहेको मुर्कची–पुँवारे थुम्का–रौता पोखरी जोडिएको सडक साँघुरो, घुम्तीयुक्त, लामो र स्तरोन्नति गर्नै नमिल्ने गरी विना इन्जिनियरिङ बनेको हुँदा घण्टौँ समय लाग्ने गरेको छ। त्यस्तो लामो, अप्ठेरो र साँघुरो सडक भएर पर्यटक रौता पोखरी पुग्न कठिनाइ हुने गरेकाले यो वैकल्पिक सडकको रुपमा निर्माण गर्न थालिएको अध्यक्ष मगर बताउँछन्। 

प्रकाशित: २ पुस २०८१ १७:३४ मंगलबार