समाज

ऐतिहासिक पुसे मेला मनाउन दुईदिने बिदा

ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले ५१ वर्षदेखि लाग्दै आएको पुसे मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिएको छ। 

पुस ३ र ४ गते स्थानीय बिदा दिने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादवले जानकारी दिए। यी दुई दिन पालिका मातहतका सरकारी कार्यालय, विद्यालय तथा सङ्घसंस्थाहरूमा (आकस्मिक सेवा बाहेक) बन्द रहनेछन्।

मेरिङदेन गाउँपालिकाको दोभान बजारमा पुस १ देखि ५ गतेसम्म पुसे मेला लाग्नेछ। यस मेलामा अन्तर्राष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुनेछ। 

पुसे मेला सञ्चालन समितिका अध्यक्ष हेम चोङ्बाङले भलिबल प्रतियोगितामा भारतको सिक्किमसहित भोजपुर, झापा, सङ्खुवासभा, पाँचथर र ताप्लेजुङका दुई टोली गरी ७ टोली सहभागी हुने जानकारी दिए। विजेताले ट्रफीसहित तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

यस्तै, पुसे मेलामा ब्याडमिन्टन प्रतियोगिता, साइक्लिङ, र्‍याफ्‌टिङ लगायतका गतिविधि हुनेछन्। सांस्कृतिक कार्यक्रममा राजु लामा, दयाहाङ राई लगायतका कलाकारहरूको उपस्थितिमा साङ्गीतिक कार्यक्रम हुनेछन्। 

प्रकाशित: २९ मंसिर २०८१ १५:३५ शनिबार

#NagarikNews #Taplejung