समाज

जग्गा अधिग्रहण र मुआब्जामाथि छलफल

काठमाडौ – फास्ट ट्रयाक निर्माणका सिलसिलामा ललितपुरको खोकनामा उत्पन्न विवादका विषयमा बुधबार छलफल भएको छ। रक्षामन्त्री ईश्वर पोखरेल तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा सैनिक मुख्यालयमा छलफल आयोजना गरिएको हो। खोकना क्षेत्रको जग्गा अधिग्रहण तथा मुआब्जा सम्बन्धमा ललितपुर जिल्लाका सांसद पम्फा भुषाल, सरकारी कार्यालयका पदाधिकारी, स्थानीय जनप्रतिनिधी, सरोकारवाला र स्थानीय बासिन्दासँग छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

छलफलमा स्थानीय प्रतिनिधीहरुले जग्गाको समयानुकुल उचित मुआब्जा दिन र उक्त ईलाकाको ऐतिहासिक सांस्कृतिक सम्पदाको संरक्षणमा पहल गर्न आग्रह गरेका थिए। उनीहरुले नेपाल सरकारको परियोजना चक्रपथ, स्मार्ट सिटी, बाग्मती कोरिडोर,  १३३ के.भि.ए. प्रशारण लाईन उक्त स्थानमा पर्दा खोकनाको अस्तित्व नै खतरामा पर्ने जानकारी गराएका थिए।

छलफलमा सांसद भूषालले आयोजना बन्न सहयोग गर्नुपर्ने तर समयसापेक्ष मुआब्जा रकम उपलब्ध गराउनु पर्ने बताइन्। कार्यक्रममा रक्षामन्त्री पोखरेलले मुआब्जाको विषयलाई पुनरावोलकन गर्न, सांस्कृतिक सम्पदा बचाउन र स्थानीय जनतालाई विस्थापित हुन नदिनको लागि गहन छलफल गरी निर्णय गरिने बताएका छन्।

फास्ट ट्रयाकको जग्गा अधिग्रहणका विषयमा कुरा नमिलेपछि स्थानीयहरुले फास्ट ट्रयाक निर्माणको विरोध गर्दैै आएका छन्।

प्रकाशित: २९ चैत्र २०७४ ०१:२३ बिहीबार

जग्गा अधिग्रहण मुआब्जामाथि छलफल