समाज

प्रहरी भ्यानको ठक्करबाट घाइते युवतीको विचल्ली, क्षतिपूर्ती पाएनन्

काठमाडौं– महानगरीय प्रहरी वृत्त कमलपोखरीको बा.१ झ ७३२२ नम्बरको गस्ती भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी २० वर्षीया रोशना रामुदामुको परिवारले घाइतेको उपचार खर्च नव्यहोरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। 

बुधबार रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले पत्रकार सम्मेलन गरेर उपचारमा लागेको करिब १२ लाखसहित थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारत रामुदामुको भविष्य सुनिश्चित हुनेगरि कानूनी तवरबाट उपचार गर्न माग गरेको हो। 

रोशनाका काका सुवेन्द्र रामुदामुले प्रहरी प्रशासनले घाइतेको उपचारमा लागेको खर्च व्यहोर्न सक्दैनौ भन्नु कानूनको उल्लंघन गर्नुसरह भएको बताए। उनले भने, ‘२० वर्षीया  कलिलो छोरीले जीवन आधा बनाउनु परेको छ, पहिले जस्तो बोल्न सक्दैनन्, पहिलेकोजस्तो लय छैन्, अरुको साहारामा हिड्न थालेकी छिन्, जनताको सुरक्षाको लागि खटिएका प्रहरीबाट दुर्घटना हुन्छ र प्रहरी प्रशासनले नै उपचार खर्च तिर्न सक्दैनौं भन्छ, यो भन्दा अरु लाजमर्दो कुरा के हुन सक्छ?’

अस्पतालमा उपचार गरिहरहेकी छोरीले पीडकलाई कारबाही होस् र आफूलाईजस्तै अरुलाई कसैलाई पनि अन्याय तथा दुःख भोग्न नपरोस् भनिरहेकी जानकारी गराउँदै उनले क्षतिपूर्ती नपाए जुनसुकै आन्दोलन गर्न बाध्य हुने बताए।

सुवेन्द्रले महानगरीय प्रहरी वृत्त कमलपोखरीको लापरवाही र अलमलमा पारेर पीडितलाई न्याय नदिने खेललाई अदालत लैजानको लागि पहल भइसकेको जानकारी समेत गराए। ‘दुर्घट्नामा क्षतिग्रस्त बाइकको कुनै प्रक्रिया अघि बढेको छैन्, दुर्घट्ना गराउने चालक र सवारीसाधनले नै सम्पूर्ण क्षति व्यहोर्नुपर्ने हो, प्रहरी जवानले क्षतिपूर्ति तिर्न नसक्ने बताएको प्रहरी नायव निरीक्षक कुलदीप चन्दले हामीसँग भनेका छन्, बिमा वापतको तीन÷चार लाख रुपैयाँ दिनसक्ने चन्दले बताएका छन्, तर अस्पतालमा करिब १२ लाख उपचार खर्च लागेको छ, छोरीको रिफर गर्ने बेलामा हामीले कसरी त्यत्रो पैसा तिर्ने’, उनले प्रश्न गरे।

प्रकाशित: २८ चैत्र २०७४ १३:३४ बुधबार

प्रहरी भ्यानको ठक्करबाट घाइते युवतीको विचल्ली क्षतिपूर्ती पाएनन्