समाज

न्यायालय लयमा फर्किएको छ, अब गरिमामय बनाउन जरुरी: प्रधानन्यायाधीश

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयलाई लयमा फर्काउन सफल भए पनि अब यसलाई गरिमामय बनाउनु आवश्यक रहेको बताएका छन्।

शनिबार आयोजित वरिष्ठ अधिवक्ता प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्यायालयको गरिमा निर्माण सबै कानूनी व्यवसायीहरूको साझा दायित्व भएको उल्लेख गरे।

उनले न्यायालय आफैं गरिमामय नहुने भन्दै यसका लागि त्याग, समर्पण, गहिरो अध्ययन, पवित्रता, र सार्थकतासहितको प्रयास आवश्यक हुने बताए।

प्रधानन्यायाधीश राउतले भने, ‘तपाईं हाम्रा अथक प्रयासबाट न्यायालय लयमा फर्किएको छ। तर, लयमा फर्किएकैमा चित्त बुझाउने हो कि न्यायालयलाई गरिमामय पनि बनाउने हो ? न्यायालय आफैं गरिमामय त बन्दैन। यो जिम्मेवारी वर्तमान परिवेशले हामीलाई सुम्पिएको छ। अब हामीले आफूलाई निर्मम रूपमा समीक्षा गर्नुपर्ने देखिन्छ। गरिमामय न्यायालय निर्माणका लागि त्याग र समर्पणको डिमाण्ड छ। त्यसका लागि हामी तयार छौं ? म तयार छु। सहकार्य र सहयोग पाए, न्यायालय गरिमामय नहुने कुरै छैन। एक पटक प्रयास गरौं।’

उनले वरिष्ठ अधिवक्ताहरूले आफूलाई नैतिकताको सीमाभित्र राख्नुपर्ने आवश्यकता औंल्याए। साथै, न्यायालयलाई स्वच्छ, पवित्र र सार्थक बनाउने दिशामा सबै कानूनी व्यवसायीहरू जुट्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा प्रधानन्यायाधीशले न्यायालयको गरिमालाई केवल संस्थागत जिम्मेवारीको रूपमा मात्रै नभई व्यक्तिगत र सामूहिक दायित्वको रूपमा समेत लिएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे।

प्रकाशित: २२ मंसिर २०८१ २१:०२ शनिबार