समाज

पाथिभराले होटलहरु भरीभराउ

पाथिभराबाट फर्किदै दर्शनार्थी र पाथिभराका होटल। तस्बिरः गिरिराज बाँस्कोटा/नागरिक

ताप्लेजुङ – पूर्वको चर्चित पाथीभरा देवि जाने बाटोको अन्तिम बस्तीको रुपमा रहेको ठूलोफेदी (माथिलो फेदी) मा रहेका होटलहरू खचाखच भरीएका थिए।

बिहानीको समयमा उकालो लाग्ने, पूजा सामाग्री खरीद गर्नेको भिडपनि उत्तिकै थियो। देश तथा विदेशबाट आएका धार्मिक पर्यटकका लागि बास तथा खानाका लागि बनाइएका यहाँका होटलहरूमा पाइला राख्न नमिल्नेगरी भिड देखिन्थ्यो। यहाँमात्र हैन पदयात्रा सुरु हुने तल्लो फेदी, काफ्लेपार्टीका होटलहरूमा पनि खचाखच भिड थियो।

तल्लो फेदी, काफ्ले पार्टी र माथिल्लो फेदीमा सञ्चालनमा रहेका यि होटलहरू पाथीभरा आउनेका लागि खोलिएका हुन्। सिजनमा यहाँका होटलहरू खुब चल्छन्। यतिबेला पाथिभराको सिजन चलेकाले यहाँ दर्शनार्थीको चाप उल्लेख्यमात्रमा रहेको छ।

काठमाडौं, नेपालका पश्चिम, पूर्वका विभिन्न जिल्ला तथा भारतका विभिन्न ठाउँबाट दर्शनार्थीहरू आहिरहेको न्यू झापाली होटलकी सञ्चालक सिता कार्कीले बताइन। ‘सिजनमा बढि होटल चल्छन्। सिजनकै लागि यहाँ होटल खोलिएको हो। यतिबेला आउनेहरूको संख्या धेरै छ। वर्षेनी देविको दर्शनका लागि फरक फरक ठाउँबाट आउनुहुन्छ। यहाँका होटलमा बस्नका लागि व्यवस्थापन गरीरहेका छौँ’ कार्कीले भनिन् ‘असोज–मंसिर र फाल्गुन–जेठमा बढी भिड हुने गर्छ।’ यो पल्ट हिमपात हुने पुष–माघमापनि प्रशस्त दर्शनार्थीहरू आएको स्थानीयहरू बताउँछन्।

माथिल्लो फेदीमा १७, काफ्ले पार्टीमा १२, काफ्लेपाटी देखि माथिल्लो फेदीको बीचमा ९ र तल्लो फेदीमा ४ बटा होटल सञ्चालमा रहेका छन्। यि होटलहरू यतिबेला भरीभराउ  छन्। यहाँका होटल सञ्चालकहरूले व्यापार निक्कै राम्रो गरी सञ्चालन गरिरहेका छन्। काठ र जस्ताका ठूला ठूला घर बनाएर होटल सञ्चालन गरिरहेका छन्। धेरै कोठा बनाइएपनि भरीभराउ देखिन्छ।

चिसो मौसममा दर्शनार्थीलाई खाना र बासको व्यवस्थापनमा निक्कै व्यवस्थता देखिन्छ। बिहान तीन बजे देखि राति अबेरसम्म यहाँ चहलपलह देखिन्छ। जेनेरेटर चलाएर सुविधा दिएको देखिन्छ। काफ्लेपाटीसम्म सडक पुगेको छ। यहाँदेखि माथिल्लो फेदीसम्म खाद्यान्न, पूजाका सामाग्री मान्छेलाई बोकाएर लगेर होटल तथा व्यापार चलाइएको छ।
ठूलो फेदी देखि तल्लो फेदीसम्ममात्र हैन पाँचथर सदरमुकाम फिदिमसम्म होटलहरू खचाखच भरिएको छ।

पाथीभरा आउनेलाई दृष्ट्रिगत गर्दै ताप्लेजुङको सुकेटार, ताप्लेजुङ सदरमुकाम फुङलिङ, पाँचथर सदरमुकाम फिदिममा सुविधा सम्पन्न ठूला होटलहरु सञ्चालनमा रहेका छन्। यि होटलहरू भरीभराउ छन्। दुई दिन अगाडि देखि होटल बुकिङ हुने गरेको फिदिममा रहेको होटल अजिमाका सञ्चालक विमल श्रेष्ठले बताए।

फिदिममा तत्काल होटलको रुम पाउन कठिन हुन्छ। पाथिभराले इलाम देखि ताप्लेजुङसम्मकै कारोबार वृद्धि गरेको छ। दर्शनार्थीहरू ताप्लेजुङमा होटल भरीएपछि फिदिमसम्म आइपुग्छन्। समूह बनाएर पाथीभरा आउने गरेको पाइन्छ। पाथिभरा मन्दिर क्षेत्र संरक्षण समितिका उपाध्यक्ष रणबहादुर कार्कीका अनुसार वार्षिक ४ लाखको हाराहारीमा दर्शनार्थी पाथिभरा आउने गर्छन्।

पाथिभराको निक्कै प्रख्याती रहेको छ। पाथिभरा आउने कारण मेची राजमार्गमा गाडी चाप अध्याधिक बढेको छ। नेपाली गाडीका हाराहारीमा भारतीय नम्बर प्लेटका गाडीहरू कुद्न थालेका छन्। ताप्लेजुङको सुकेटारसम्म कालोपत्रे सडक रहेको छ। सुकेटार देखि काफ्लेपाटीसम्म फोरविलर साना गाडीहरूमात्र जान सक्छन्।

ताप्लेजुङ सदरमुकाममा पाथिभराका लागि प्रशस्त गाडी रहेका छन्। पाथीभरा सिजनले मेची राजमार्गमा उल्लेख्यमात्रामा गाडीहरू चलिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रेमकुमार शाह बताउँछन्। रिजर्भ गाडीहरू बढिमात्रामा चल्ने गरेको उनले बताए। पाथिभरा जानेमात्र दैनिक तीन सयको हारहारीमा गाडी चल्ने गरेको शाहले जानकारी दिए।

पाथिभरा पूर्वमा कल्चरलको रुपमा विकास भएको छ। एकपल्ट पाथिभरा जानै पर्छ भन्ने किसिमको मान्यता विकास भएको पाइन्छ। होटलकासाथै अन्य व्यापारपनि फस्टाएको देखिन्छ। मेची राजमार्गमा पर्ने बाटोहरूमा कोसेलीको रुपमा स्थानीय सामानको विक्री वितरणका लागि राखिएको पाईन्छ। यहाँ चिया, खोसार्नी, ध्यू, छुर्पी ललिपप समेत प्रशस्त बिक्ने गरेको छन्।

प्रकाशित: २८ चैत्र २०७४ ०९:३१ बुधबार

पाथिभराले होटलहरु भरीभराउ